काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच वर्षपछि तेस्रो पटक फेरि प्रधानमन्त्री बनेका छन्। प्रचण्ड आइतबार प्रचण्डले सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा तेस्रो पटक प्रधानमन्त्रीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गरेका थिए ।
प्रचण्डलाई संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) ७८, आफ्नै पार्टी माओवादी केन्द्र ३२, रास्वपा २०, राप्रपा १४, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४, जनता समाजवादी पार्टी १२ तथा स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र डा अमरेश सिंहको समर्थन रहेको छ।
पाँच दलीय सत्ता गठबन्धनसहित आम निर्वाचनमा होमिएका प्रचण्ड अन्तत: राष्ट्रपति र प्रधानमन्त्रीका विषयमा कांग्रेससँग कुरा नमिल्दा गठबन्धनलाई छोड्द एमालेसँग मिल्न गएका छन्।
प्रचण्ड यसअघि विसं २०६५ भाद्र २ देखि २०६६ जेठ ११ सम्म पहिलोपटक र २०७३ साउन २० देखि २०७४ जेठ १७ सम्म दोस्रोपटक प्रधानमन्त्री बनेका थिए। यसअघि, एमाले र माओवादी केन्द्रबीच २०७५ जेठमा एकीकरण भएको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकीकरण गर्दा नै सत्ताको बागडोर आधा–आधा कार्यकाल संहाल्ने गरी सहमति भएको थियो। तर, ओलीले सहमतिको उलंघन गरेको भन्दै प्रचण्डले तत्कालीन नेकपा विभाजन गरेका थिए। अध्यक्ष प्रचण्डको सोमबार सपथ ग्रहण हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।