बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिका– ४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्याको आरोपमा पक्राउ परेका भरतराम कोहलीलाई कारागार चलान गरिएको छ।
कोहलीलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय कोलीमाथि गत मङ्सिर १३ गते घाँटी रेटेर हत्या गरेको आरोप छ। सशस्त्र प्रहरीका जवानसमेत रहेका कोलीविरुद्ध मायाको घाँटी रेटेर हत्या गरी लुहारकी भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारलाई घाइते बनाएको आरोप छ।
घटनापछि फरार रहेका कोहलीलाई प्रहरीले मङ्सिर १८ गते महेन्द्रनगरबाट पक्राउ गरेको थियो। कोहलीविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो। उनले लुहारको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।