काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको छलफलमा ६ दलको नेतृत्व गर्दै प्रचण्ड प्रधनमन्त्री बन्ने भएका हुन्।
बालकोटमा जारी बैठकमा सहभागी एक नेताले पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बन्नेगरी सहमति जुटेको दाबी गरे।
सत्ता गठबन्धनबाट प्रधानमन्त्री नबन्ने देखिएपछि माओवादी अध्यक्ष प्रचण्ड आइतबार दिउँसो नयाँ समीकरण जुटाउन बालकोट पुगेका थिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको दाबी नछाडेपछि सत्ता गठबन्धनको यात्रा टुंगिएको भन्दै प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकबाट बाहिरिएका थिए।
अब नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीको समर्थनसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबेदारी पेस गर्ने तयारी गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार ७ दिनको समयसीमा तोक्दै प्रधानमन्त्रीमा दाबेदारी पेस गर्न दलहरुलाई आह्वान गरेकी थिइन्। राष्ट्रपतिले दिएको समयसीमा आज (आइतबार) अपराह्न ५ बजे सकिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।