काठमाडौं– नेपाल फर्निचर तथा फर्निसिङ संघ काठमाडौंमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार राजधानीमा सम्पन्न संघको २३ औं साधारणसभा तथा अधिवेशनले दिनेश अग्रवालको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि १७ जना सर्वसम्मत चयन भएका हुन्।
संघको वरिष्ठ उपाध्यक्षमा मनीष अग्रवाल, प्रथम उपाध्यक्षमा अरुण कुमार चौधरी, द्वितीय उपाध्यक्षमा अर्जुन घिमिरे र महासचिवमा सञ्जय लामा निर्विरोध भएका हुन्। त्यसै गरी कोषाध्यक्षमा रमिता कसजू श्रेष्ठ, सचिवमा केदारनाथ बस्ताकोटी र डमरु बल्लभ पराजुली निर्विरोध भएका छन्। संघको सदस्यमा दिल विक्रम श्रेष्ठ, भोला मान योञ्जन, ऋषि किशोर अग्रवाल, सम्यकमान सिंह, मुकेश अग्रवाल, गीता अच्छामी, रन्जू श्रेष्ठ, निकुञ्ज अग्रवाल र टेक बहादुर कार्की निर्विरोध निर्वाचित भएका हुन्।
निवर्तमान अध्यक्ष शुभेन्द्र जोशी रहेको कार्यसमितिले थप ३ जना सदस्यहरु मनोनयन गरी २१ सदस्यीय कार्यसमितिलाई पूर्णता दिनेछ। संघको साधारणसभालाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले घर बहालका सन्दर्भमा व्यापक गुनासोहरु आएकाले घरबेटी र बहालमा बस्नेलाई सहज हुने किसिमको कानुनी प्रावधान गर्न लागिएको जानकारी दिएकी थिइन्।
कार्यक्रमका वक्ताहरुले उपमेयर डंगोललाई उपत्यकामा मालवस्तु ढुवानीमा गरिएको कडाईले फर्निचरका उत्पादन ओसारपोसारमा समस्या भएकोतर्फ ध्यानाकर्षण गराएका थिए। महानगरले अघि सारेका योजना राम्रा भए पनि व्यवसायीसँग छलफल नगर्दा व्यवस्थापकीय समस्या उत्पन्न भएको उनीहरुको भनाइ थियो।
संघका निवर्तमान अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर व्यवसायीलाई काठ कटानीको टेण्डरमा सहभागी हुनबाट बञ्चित गराइएकोतर्फ ध्यानाकर्षण गराए। टेण्डरमा सहभागि हुनबाट बञ्चित गराइँदा कच्चा पदार्थको अभावमा फर्निचर उद्योगहरु समस्यामा पर्ने र अर्कोतर्फ वनजंगलमा काठ खेर जाने अवस्था बनेको बताए।
संघका नवनिर्वाचित अध्यक्ष दिनेश अग्रवालले उच्च विन्दुमा पुगेको बैंक व्याजदरका कारण फर्निचर व्यवसायीहरु बिस्थापित हुने अवस्थामा पुगेको बताए। विद्यमान कानुनहरु समयसापेक्ष रुपमा संसोधन नहुँदा फर्निचर व्यवसाय अघि बढाउन असहज हुनुका साथै वन पैदावारको उचित सदुपयोग हुन नसकेको उनको भनाई थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।