तस्बिर स्रोतः एएफपी फाइल।
काठमाडौं– ‘बिकीनी किलर’ नामले कुख्यात फ्रेन्च नागरिक चार्ल्स शोभराजले नेपाल राज्यविरुद्ध मुद्दा हाल्ने बताएका छन्।
शुक्रबार साँझ ६ बजे कतार एयरलाइन्सको क्यूआर–६४७ नम्बरको उडानमार्फत फ्रान्स डिपोर्ट गरिएका उनले यस्तो बताएको समाचार संस्था एएफपीले जनाएको छ।
शाेभराजले रिहाइपछि आफू खुसी भएको बताएका छन्। साथै, उनले अझै आफूले धेरै गर्न बाँकी रहेको एफपीले जनाएको छ। त्यसमा नेपालविरुद्ध मुद्दा हाल्नु पनि रहेको छ।
‘रिहाइपछि म खुसी भएको छु। मैले गर्न धेरै काम छन्। त्यसमा नेपाल राज्यविरुद्ध मुद्दा हाल्नु पनि एक हो,’ उनले भनेका छन्।
शोभराजलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी शुक्रबार फ्रान्स डिपोर्ट गरिएको हो।
कर्तव्य ज्यानको कसुरमा केन्द्रीय कारागारमा १९ वर्ष २ महिना जेल बसेर उनी शुक्रबार रिहा भएका थिए। रिहा भएलगत्तै उनलाई फ्रान्स डिपोर्ट गरिएको हो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै शोभराजलाई जेलमुक्त गर्न आदेश दिएको थियो।
सर्वोच्चले शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र स्वदेश (फ्रान्स) पठाउनसमेत सरकारका नाममा आदेश जारी गरेको थियो। सोहीअनुसार उनलाई फ्रान्स पठाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।