काठमाडौं– भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादवलाई ४ महिना कैदको सजाय निर्धारण गरिएको छ।
सर्वोच्च अदालतले उनलाई ४ महिना कैद र ९७ हजार ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले एसपी यादवसहित ढकबहादुर गुरुङलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको हो।
योसँगै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत रहेका एसपी यादवको जागिर गएको छ।
डीएसपी भएको बेला २०२० मा रुपन्देहीमा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो। आर्थिक अनियमितता र लागु औषध मुद्दामा पैसा लिएर मिलाएको पाइएपछि अख्तियारले उनी र हवल्दार ढकबहादुर गुरुङविरुद्ध मुद्दा चलाएको थियो। अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनीहरु दुबै जना निलम्बनमा परेका थिए।
त्यतिबेला निलम्बनमा परेका उनी विशेष अदालतले सफाइ दिएपछि पुनः सेवामा फर्किएका थिए। विशेष अदालतले सफाइ पाउने फैसला सुनाए पनि सरकारी वकिल कार्यालय भने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगेको थियो।
सर्वोच्चले मुद्दा दायर भएको करिब साढे ७ वर्षमा फैसला गर्दै एसपी यादव र हवल्दार गुरुङलाई दोषी ठहर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।