काठमाडौं– कुख्यात ‘बिकिनी किलर’, फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई जेलमुक्त गर्ने सर्वोच्च अदालतको आदेशसहित भक्तपुर जिल्ला अदालतको पत्र कारागार कार्यालय जगन्नाथ देवल, सुन्धारा पुगेको छ।
पत्र पुगेपछि कारागार व्यवस्थापन विभाग र कारागार कार्यालयका कर्मचारीहरु शोभराजलाई छाड्न–मिल्ने नमिल्ने विषयमा छलफलमा रहेका छन्।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र सिवाकोटीले भक्तपुर जिल्ला अदालतको पत्र प्राप्त भएको जानकारी दिए। ‘भक्तपुर जिल्ला अदालतको पत्र प्राप्त भएको छ। यो पत्रका आधारमा शोभराजलाई रिहा गर्न सकिन्छ कि सकिँदैन, कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ शिवाकोटीले नेपाल लाइभसँग भने।
कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय सुनाइएका शोभराजलाई सर्वोच्च अदालतले बुधबार रिहा गर्ने आदेश जारी गरेको थियो। १ वर्ष मात्रै कैद सजाय भुक्तान गर्न बाँकी रहेको अवस्थामा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र स्वेदश (फ्रान्स) पठाउन समेत भनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।