काठमाडौं– बैतडीमा गत शनिबार मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको खुलेको छ। सुर्नया गाउँपालिका २ स्थायी घर भइ पाटन नगरपालिका ६ स्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही विद्यालयमा कम्प्युटर डिप्लोमा अध्ययनरत छात्रा र उनका श्रीमान् रहेको प्रहरीले जनाएको छ। छात्राका श्रीमान् केही दिनपछि विदेशको भिषा आउने भएकाले श्रीमतीसँग बस्न पाटनमा रहेको उक्त छात्राबासमा आएको बताइएको छ।
मृतक शिक्षक पनि सोही छात्राबासको माथिल्लो तलाको ९ नम्बर कोठामा बस्दै आएका थिए। घटना भएको दिन शिक्षक विष्टलाई छात्राले छात्राबास पछाडि बोलाएको र विवाद हुँदा हत्या भएको प्रहरीले बताएको छ।
प्रहरीले कुन विषयले हत्या भयो भन्ने कुरा चाहिँ खुलाएको छैन। यद्यपि पक्राउ परेका दुवै जनाले हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ। बैतडी प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरी आरोपीलाई सार्वजनिक गर्ने तयारी गरेको छ।
शिक्षक विष्ट पुस २ गते छात्रावासको पछाडि मृत अवस्थामा भेटिएका थिए। विष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आन्दोलन जारी छ।
बुधबार पाटन नगरपालिकामा तालाबन्दी गर्दै नगर क्षेत्रका विद्यालयसमेत बन्द गरिएका थिए। न्यायका लागि गठित संघर्ष समितिले बिहीबार जिल्लाभरका विद्यालय बन्द गरेर आन्दोलनमा सहयोग गर्न अपिल पनि गरेको छ। मृतकका परिवारले शव पनि बुझेका छैनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।