काठमाडौं– भारतबाट तस्करी गरी ल्याइएका ३११ बोरा अवैध चामल नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वा बजारबाट उक्त परिमाणको चामल प्रहरीले नियन्त्रणमा लिएको हो।
बजारमा रहेको बिसमिल्ला मियाँको घरमा फिरोज मिस्त्रीले भाडामा लिएको गोदामभित्र सृष्टि नामको चामल भन्सार छली गरी ल्याई भण्डारण गरी राखेको सूचनाका आधारमा प्रहरी चौकी भिष्वा, सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको अधिकृत खगेन्द्र साहको संयुक्त टोलीले बुधबार गोदाममा छापा मारेको थियो।
गोदामभित्रबाट टोलीले २० किलोका दरले ३११ बोरामा रहेको ६ हजार २२० किलो भारतीय चामल बरामद गरेको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।
नियन्त्रणमा लिइएको चामलको मूल्य पाँच लाख बराबरको रहेको गिरीले बताए। उक्त चामल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।