काठमाडौं– द ब्रिटिस कलेज र संयुक्त अधिराज्य (युके) को उपकेयर हेल्थ लिमिटेडबीच सम्झौता भएको छ। सम्झौताअनुसार अब उपकेयरले द ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारीहरुलाई प्राथमिक हेल्थकेयर उपलब्ध गराउनेछ।
बेलायतमा रहेको उपकेयरले दक्षिण एसियामा प्राथमिक स्वास्थ्य सेवालाई रूपान्तरण गर्न डिजिटल प्लेटफर्म प्रयोग गर्दै आइरहेको छ। यो संस्था ब्रिटिस चिकित्सक र इन्जिनियरहरुले समतामूलक, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्थापना गरेका हुन्।
उपकेयरले बिरामी केन्द्रित, व्यापक र आर्टिफिसियल इन्टेलिजेन्समार्फत् संचालित डिजिटल स्वास्थ्य प्लेटफर्मको विकास गरेको छ। यो सम्झौताअनुसार द ब्रिटिस कलेजमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थीहरूको लागि उपलब्ध हुनेछ। उनीहरूलाई प्राथमिक स्वास्थ्य सेवासम्बन्धी सुविधाहरु व्यवसायिक स्वाथ्यकर्मीहरुबाट मिल्नेछ।
यस प्लेटफर्मबारे जानकारी दिदैँ प्रमुख चिकित्सा अधिकारी र उपकेयर हेल्थका सहसंस्थापक डा नाथले भने, ‘दुर्भाग्य भन्नुपर्छ, नेपाल र अन्य दक्षिण एसियाली देशमा प्राथमिक स्वास्थ्य सेवालाई महत्त्वका साथ हेरिँदैन। ९० प्रतिशत स्वास्थ्य समस्याहरु प्राथमिक स्वास्थ हेरचाहबाट नै समाधान गर्न सकिन्छ। आम मानिसहरूलाई कसरी स्वस्थ, सुखी जीवन बिताउन सकिन्छ त्यस कार्यमा हामी काम गर्दै आइरहेका छौँ।’
ब्रिटिस कलेजसँगको सम्झौताबारे बोल्दै उपकेयर हेल्थकेयरकी सिईओ तथा सहसंस्थापक डा सुमित्रा काफ्ले भन्छिन्, ‘ब्रिटिश कलेजसँग काम गर्न पाउँदा हामी निकै उत्साहित छौँ। पहिलो भेटमा नै विद्यार्थी र कर्मचारीहरूको समग्र स्वास्थ्य सेवालाई लिएर कलेज प्रतिवद्ध रहेको हामीले पायौँ। आमाबाबुका आफ्ना सन्तानका लागि २ वटा कुराहरु: राम्रो शिक्षा, राम्रो शारीरिक र मानसिक स्वास्थ्य महत्वपुर्ण ठान्छन्। अब ब्रिटिश कलेजले अभिभावकहरूलाई यो विश्वास दिलाउनेछ।’
ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरु र कार्यरत कर्मचारीहरुलाई स्वास्थ वातावरण निर्माण गर्नका लागि नियमित रूपमा विभिन्न कम्पनीहरूसँग सम्झौता गर्दै आइरहेको छ। विद्यार्थीहरूको लागि नयाँ सम्भावनाहरू अगाडि बढाउन विभिन्न क्षेत्रसँग हातेमालो समेत गर्दै आइरहेको कलेजको दाबी छ।
ब्रिटिस कलेजका सिईओ तथा संस्थापक राजन कँडेलले भने, ‘युनिभर्सिटी प्राइमरी हेल्थकेयर बेलायतमा अध्ययन गर्ने विद्यार्थीका लागि सुनौलो मापदण्डको प्रावधान हो। हामी आफैँले पनि यो सम्झौतामार्फत् हाम्रा विद्यार्थीहरूलाई ब्रिटिश अनुभव दिने प्रतिबद्धता गरेका छौँ। यसका लागि उपकेयरबाहेक अर्को विकल्प हुनसक्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।