काठमाडौं– नागरिकतासम्बन्धी विवादको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधि सभा सदस्यको रुपमा शपथ लिने बाटो खुलेको छ।
रविले अमेरिकी नागरिकता नत्यागी (त्यागेको निस्सा पेस नगरी) निर्वाचन आयोगमा दल दर्ता गरेको, प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा चितवन–२ बाट निर्वाचित समेत भएकोले उनलाई प्रतिनिधि सभा सदस्यको रुपमा कामकारबाही गर्न नदिन माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो।
अधिवक्ता युबराज पौडेलले मंसिर २८ गते दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेसी तोकिएको थियो। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा, प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको हो।
साथै दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको रविका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले जानकारी दिए।
रिट निवेदक अधिवक्ता पौडेलले अन्तरिम आदेश माग गरेको भएपनि संवैधानिक इजलासले अन्तरिम आदेश भने जारी गरेन। अन्तरिम आदेश जारी नभएपछि रविलाई प्रतिनिधि सभा सदस्यको शपथ लिने बाटो खुलेको छ। प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुको शपथ लिने कार्यक्रम बिहीबारका लागि निर्धारण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।