काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री, सांसद तथा कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संसदीय दलको नेता नबन्दै प्रधानमन्त्री नियुक्त हुनसक्ने बताएका छन्।
शनिबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा आयोजना गरेको सांसदहरुसँगको सम्मान तथा शुभकामना कार्यक्रममा उनले गठबन्धनको नेतृत्वमा सरकार बन्ने बताए।
२०७४ मा जस्तैगरी संसदीय दलको नेता नबन्दै प्रधानमन्त्री नियुक्त हुनसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा कार्कीको जवाफ थियो- ‘त्यो दोहोरिने सम्भावनालाई नकार्न सकिन्न। किनभने परम्परा त्यो रहेछ।’
२०७४ मा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको संसदीय दलको नेतामा चयन नहुँदै प्रधानमन्त्री नियुक्त भएका थिए। यसपटक देउवाले पनि संसदीय दलको निर्वाचनअघि प्रधानमन्त्री नियुक्त हुने तयारी गरिरहेका छन्।
उनले कांग्रेसको संसदीय दलको निर्वाचनको प्रक्रिया चाँडै नै प्रारम्भ गर्ने बताए। ‘संविधानतः राष्ट्रपतिको कार्यालयबाट कुन किसिमको विज्ञप्ति जारी हुन्छ। त्यसअनुसार पनि हामीले तय गर्छौँ। तर संसदीय दलको नेता हामीले चाँडै नै तय गर्न जरुरी छ। र, चाँडै नै तय हुन्छ’, उनले भने।
यो पनि पढ्नुहोस् :
२०७४ को नजिर लिएर संसदीय दलको नेता नबन्दै प्रधानमन्त्री बन्ने बाटोमा देउवा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।