काठमाडौं– लक्ष्मी घिमिरे बागमती प्रदेशको प्रदेश सभामा समानुपातिक तर्फबाट सदस्य चयन भएकी छन्। बागमती प्रदेशभित्र पनि उनी अपाङ्गता भएकी एक्लो सांसद् हुन्।
प्रतिनिधि तथा प्रदेश सभाका सांसदको नामावली सार्वजनिक हुँदा प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभा तर्फबाट २२० गरी जम्मा ३३० जना समानुपातकिबाट सांसद् बनेका छन्। संविधानले ‘अनिवार्य’ नगर्दा दलहरुले अपाङ्ता भएकालाई समेट्न चाहेनन्। त्यसकारण उनी अहिले निर्वाचितमध्ये एक्ली अपाङ्गता भएकी सांसद् हुन्।
यस विषयमा घिमिरेको टिप्पणी छ, ‘अहिले ठूला राजनीतिक दलले अपाङ्गता भएका व्यक्तिलाई भोट बैङ्कको रुपमा मात्र प्रयोग गरिरहेका छन्।’
सपना टुटाउने दुर्घटना
२८ वर्षीया लक्ष्मीको स्थायी घर रामेछाप गोकुलगंगा गाउँपालिका–४ मा हो। उनी शेखरनाथ घिमिरे र सीतादेवि घिमिरेका ५ छोरी र एकछोरा मध्येकी सबैभन्दा कान्छी हुन्। अध्ययनको शिलशिलामा काठमाडौंको बागबजार बस्दै आएकी उनका बुवा नेपाल आर्मीका पूर्व जमदार हुन्। दाइ शिक्षण पेशामा छन्।
२०६६ सालमा एसएलसी पास भएर रामेछापमै ११ कक्षामा अध्ययनरत थिइन्। त्यही सालको असोज महिनामा भीरमा घाँस काट्ने क्रममा लडिन् र स्पाइनल कर्ड इन्जुरी (मेरुदण्डको समस्या) भयो।
दुई वर्षसम्म उपचारमै बित्यो। उपचार पूर्ण सफल भएन। एक वर्ष घरमै बसिन्। त्यो दुर्घटनाले उनलाई ह्विलचेयरमा मात्रै पुर्याएन, सानैदेखिको सेकेन्ड लेफ्टिनेन्ट बन्ने सपना समेत चुँडेर लगिदियो।
आर्मी बुवाकी सन्तान उनले कक्षा १२ पास गरेर सेकेन्ड लेफ्टिनेन्टमा भिड्ने तयारी गरिरहेकी थिइन्। ‘मेरो बुवा आर्मीको जमदार हुनुहुन्थ्यो। मलाई पनि आर्मी मन पर्ने। १२ कक्षा पास गर्नेबित्तिकै सेकेन्ड लेफ्टिनेन्ट बन्ने सपना थियो। मैले तयारी पनि गरिरहेकी थिएँ। तर दुर्घट्ना भएपछि त्यो पूरा हुन सकेन,’ उनी सम्झिन्छिन्।
दुर्घटनाले उनलाई डिप्रेसनमा पुर्यायो। छोरीको हालत देखेपछि उनका बुवाले काठमाडौं ल्याए। फेरि पढ्न प्रोत्साहित गरे। २०७० सालमा काठमाडौं आएपछि उनले पढाइलाई निरन्तरता दिइन्। जोरपाटीको चामुण्डा कलेजमा ११ कक्षामा भर्ना भइन्। ‘मलाई कम्प्युटर साइन्स पढ्ने इच्छा थियो। कलेजले कक्षा तल सार्नुपर्छ भनेर भर्ना लिन झन्झट मान्यो, त्यसपछि मैले व्यवस्थापन विषय पढेँ,’ उनले भनिन्।
प्लस टू सकेपछि स्नातक पढ्न पद्मकन्या क्याम्पसमा भर्ना भइन्। स्नातकमा मानविकी संकायबाट राजनीतिशास्त्र र व्यवस्थापन विषयको अध्ययन गरिन्। अहिले पद्मकन्या कयाम्पसमै स्नातकोत्तर तह दोस्रो वर्षमा अध्ययनरत छिन्।
रोजगारीले राजनीतिमा प्रवेश
घिमिरे स्नातक तेस्रो वर्षमा पुगेकी थिइन्। उनलाई आफ्ना लागि आफैंले कमाउने बाटो खोज्न मन लाग्यो। उनी कामको खोजीमा थिइन्। २०७४ सालमा विवेकशील पार्टी खुल्यो। उनले विवेकशीलको पार्टी कार्यलयमा रिसेप्सनमा काम पाइन्।
त्यही बाटोबाट उनी आज सांसद् बन्ने ठाउँमा आइपुगेकी हुन्। ‘खासमा म विवेकशीलमा काम गर्न गएकी थिएँ। मलाई फ्रन्ट डेस्क अफिसर भनेर राखिएको थियो,’ उनी सम्झिन्छिन्।
विस्तारै त्यही विवेकशील पार्टीको युवा संगठनमा आबद्ध भइन्। पछि विवेकशील र साझा पार्टी एकीकरण गरेर बनेको विवेकशील साझा पार्टीको युवा संगठनको केन्द्रीय सदस्यमा मनोनित भइन्। युवा संगठनमा सक्रिय भएको १ वर्षपछि विवेकशील साझाको केन्द्रीय समितिमा पुगिन्। उनलाई विभाग प्रमुखकै जिम्मेवारी दिइयो। सदस्यता व्यवस्थापन विभाग पनि हेर्नुपर्ने थियो।
‘विवेकशीलमा आवद्ध हुँदा देशको लागि केही गर्नुपर्छ भन्ने भावना पनि बढेर गयो। अपाङ्गता भएपछि मैले यो समाजमा जति संघर्ष गर्नुपर्यो, जिउनका लागि अब आउने पुस्ताले त्यस्तो भोग्न नपरोस् भन्ने लाग्यो,’ उनी भन्छिन् ‘हामी अपाङ्गता भएका व्यक्तिलाई राज्यले बेवास्ता गरेको छ। यसको विरुद्धमा आवाज उठाउनुपर्छ। कसैले सहयोग गर्छ भने थोरै मात्रामा सकिन्छ, देशव्यापी रुपमा गर्न त राजनीतिमा जानैपर्छ। म अपाङ्गता भएकाहरुको आवाज उठाउन राजनीतिमा लागेकी हुँ।’
ह्वीलचेयर बास्केटबल खेलाडी
घिमिरे ह्विलचेयर बास्केटबलको नेसनल क्याप्टेन समेत रहीसकेकी छन्। उनले कोरियामा संयुक्त राष्ट्र संघले आयोजना गरेको ‘अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि’ मा नेपालको प्रतिनिधित्व समेत गरेकी थिइन्।
उनले देश विदेशमा बास्केटबल खेलेकी छिन्। आफ्नो टिमको नेतृत्व गरेकी छिन्। खेलाडीका रुपमा उनले समस्या बुझेकी छिन्। संसद्मा उनले ती समस्या समेत उठाउने बताइन्।
‘एउटा खेलाडीलाई राज्यले राम्रो सेवासुविधा पनि दिएको छैन। राज्यले जुन रुपमा चासो लिनुपर्ने हो, अपाङ्गता भएका खेलाडीलाई त झन् जहिल्यै बेवास्ता गर्छ। खेलकुदलाई पनि कसरी प्राथमिकतामा राख्न सकिन्छ भन्ने त्यो कुरामा पनि म आवाज उठाउने छु,’ उनले भनिन्।
मिश्रसँगै राप्रपा प्रवेश
रवीन्द्र मिश्र गत असोज १२ गते विवेकशील साझा छाडेर राप्रपामा प्रवेश गरे। त्यही दिन उनी पनि राप्रपामा प्रवेश गरेकी हुन्। विवेकशील साझामा उनी केन्द्रीय सदस्य थिइन्।
‘के गर्ने भन्ने त योजना थिएन तर पनि मलाई राजनीतिमा रुचि थियो। मेरो पारिवारिक पृष्ठभूमिमा पनि खासै राजनीति थिएन। तर मेरो वुबा २०५४ सालमा वडाध्यक्षमा राप्रपाबाट उठ्नु भएको थियो। तर जित्नु भएन,’ उनले भनिन्।
उनी हाल राप्रपाबाट बागमती प्रदेश सभाको सदस्य चुनिएकी छन्। प्रदेश सभा सदस्यको रुपमा विशेषगरी अपाङ्गताको विषयमा विभिन्न नीति निर्माणमा लागिपर्ने बताउँछिन् उनी।
‘सुरुमा त म संसद् भवन अपाङ्गमैत्री छ कि छैन, त्यो हेर्छु,’ उनले भनिन्। उनको पार्टीको अजेन्डा प्रदेश सभा खारेज हो। त्यसका लागि पनि सक्रिय हुने बताउँछिन्। उनी भन्छिन्, ‘नेपालको संघीयतामा प्रदेश सरकार नभए पनि हुन्छ। प्रदेश सरकारका लागि खर्च हुने रकम त देश विकासमा प्रयोग गर्दा हुन्थ्यो बरु।’
नेपालमा अपाङ्गता भएका व्यक्तिलाई जिउन सहज छैन। अपाङ्गता भएका व्यक्तिलाई राज्यले गुणस्तरीय स्वास्थ्य सेवामा प्राथमिकता दिनुपर्ने उनको धारणा छ। शिक्षा क्षेत्र पनि अपाङ्गमैत्री नभएको उनले महसुस गरेकी छिन्। ‘सरकारी कलेजहरुमा गुणस्तरीय शिक्षा छैन। प्राइभेटमा यो अपाङ्गतामैत्री बनाउनु हाम्रो जिम्मेवारी नै होइन जस्तो गर्छन्। अपाङ्गता भएका कारण मैले चाहेको विषय पढ्न पाइनँ,’ उनले आफ्नो अनुभव सुनाइन्।
नेपालको यातयात व्यवस्था पनि अपाङ्गमैत्री नभएको उनले बताइन्। ‘अहिले चल्ने बसमा हामी कसरी यात्रा गर्ने?’ उनको प्रश्न छ, ‘सशक्त व्यक्ति त त्यो बसमा कति सकसपूर्ण यात्रा गरिरहेका छन्।’ उनी नेपालको यातायात, शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्र पनि अपाङ्गतामैत्री नहुनु नेपालको प्रमुख समस्या भएको बताउँछिन्।
‘म पो अलि हुनेखाने परिवारमा जन्मिएकी थिएँ र यहाँ आइपुगेँ। दुर्गम क्षेत्रका अपाङ्गहरु एउटा ह्विलचेयर नपाएर, एउटा वैशाखी नपाएर ओछ्यानमै थला परिरहेका छन्। म अपाङ्गताको समस्या समाधान गर्नका लागि राजनीतिमा लागेकी छु। मैले संसद्मा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको आवाज उठाउँछु,’ उनले भनिन्।
उनले अब राजनीतिलाई निरन्तरता दिने अठोट लिएकी छिन्। प्रदेश सभामा खासै आवाज उठाउन नपाए पनि आफ्नो राजनीतिक माहोल बनाउने र अर्को ५ वर्षपछि प्रतिनिधि सभामा आउने योजना रहेको उनी बताउँछिन्।
‘हामी अपाङ्गता भएका व्यक्तिलाई राजनीतिमा आउन निकै संघर्ष गर्नुपर्ने हुन्छ। हामीले मतदातालाई विश्वास दिलाउन गाह्रो छ। समाजको सोचाइ पनि त्यस्तै छ,’ उनी भन्छिन्, ‘अपाङ्गता भएका व्यक्तिलाई सहारा नै चाहिन्छ भन्ने होइन। हामी पनि संघर्ष गरेर आत्मनिर्भर हुन सक्छौं। आत्मनिर्भर भएका छौं, तर सोचाइ परिवर्तन गर्न निकै समय लाग्छ। त्यसकारण हामीलाई प्रत्यक्ष लडेर राजनीतिमा आउन कठिन छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।