वार्सा- पोल्याण्डको राजधानी वार्सामा नेपाली समुदाय एवं विदेशी कूटनीतिक क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा पोल्याण्डका लागि नेपाली कन्सुलर अफिसको स्थापना गरिएको छ।
शुक्रबार जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले कन्सुलर अफिसको उद्घाटन गरेका हुन्। राजदूत खड्का पोल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पनि हुन्।
नेपाल सरकारद्वारा हालै पोल्याण्डका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरिएका डा बोधराज सुवेदीको पहलमा उक्त कार्यालय स्थापना गरिएको हो। करिब ६३ वर्ष लामो कूटनैतिक, राजनीतिक र सांस्कृतिक सम्बन्ध रहेको पोल्याण्डमा पहिलोपटक नेपालको तर्फबाट अवैतनिक वाणिज्यदूत नियुक्त गरिएको हो।
समारोहलाई सम्बोधन गर्दै पोल्याण्डका लागि गैरआवासीय राजदूत पनि रहेका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पोल्याण्डमा रहेका नेपालीहरुको हकहितका लागि आफू र नेपाली दूतावासको तर्फबाट सक्दो सहकार्य हिजो पनि गरेको, आज पनि गरिरहेको र भोलि पनि गर्न तयार रहेको बताए।
उनले कन्सुलर अफिसको स्थापनापछि नेपाल तथा पोल्याण्डबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध अरु मजबुत हुने विश्वास व्यक्त गर्दै पोल्याण्डमा बसोबास गर्ने नेपालीहरुलाई पनि सहयोग पुग्ने बताए।
नवनियुक्त वाणिज्यदूत डा बोधराज सुवेदीले हिजो पनि आफूले बिना स्वार्थ नेपाल र नेपालीका लागि निरन्तर काम गरेको र अहिले पाएको यो जिम्मेवारीले थप प्रेरणा, ऊर्जा र हौसला दिएको बताए। उनले पोल्याण्डमा रहेका सम्पूर्ण सामाजिक संघसंस्थालाई मिलाएर नेपाल र नेपालीको हकहितमा निरन्तर लागि पर्न सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता पनि जाहेर गरे।
गएको ३३ वर्ष देखि पोल्याण्डलाई कार्यक्षेत्र बनाउँदै आएका डा सुवेदी पोल्याण्डस्थित नेपालीहरुको हकहितका लागि क्रियाशील रहँदै आएका छन्। उनी गैरआवासीय नेपाली संघ पोल्याण्डका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक साथै पोलिश-नेप्लिज फाउन्डेसनका अध्यक्ष पनि हुन्।
समारोहमा पोल्याण्डको परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू, विभिन्न देशका राजदूत तथा अवैतनिक वाणिज्यदूतहरु, पोल्याण्डका विभिन्न विश्व विद्यालयमा कार्यरत प्राध्यापकहरु, पोल्याण्डस्थित नेपाली संघ संस्थाका पदाधिकारी, साहित्यकार तथा उद्योगी व्यवसायीहरुको पनि उपस्थिति थियो।
युरोपेली संघको सदस्य तथा उदाउँदो अर्थतन्त्रको रुपमा पनि हेरिएको पोल्याण्डमा अहिले नेपालीहरुको संख्या चारदेखि पाँच हजारको बीचमा रहेको अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।