काठमाडौं– खेल जीवनको उत्तरार्धमा रहेका सुपरस्टार क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबलको उपाधि जित्ने उद्देश्यले कतार गएका थिए। तर, उनको कप्तानीमा रहेको टोली पोर्चुगल ‘अण्डर डग’ मोरक्कोसँग पराजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
रोनाल्डो मोरक्कोविरुद्धको खेलमा सुरुवाती ११ मै परेका थिएनन्। मध्यान्तरपछि उनी मैदानमा त उत्रिए। तर टोलीको हार टार्न सकेनन्।
यसपछि उनले निकै भावुक भएर मैदान छाडेका थिए। ट्रेसिङ रुमसम्म पुग्दा उनी डाँको छोडेरै रोइरहेका थिए।
यो दृश्य हेरेपछि अधिकांश फुटबलका दर्शक र उनका समर्थकले रोनाल्डोप्रति सहानुभूति देखाइरहेका छन्। यसरी सहानुभूति देखाउनेमा भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली पनि छन्। कोहलीले सोमबार सामाजिक सञ्जालमार्फत रोनाल्डोले फुटबल र समग्र खेलकुदमा गरेको गोगदानलाई कुनै ट्रफी वा उपाधिसँग दाज्न नमिल्ने बताएका छन्।
‘तपाईँले यो खेल (फुटबल)लाई गरेको योगदानलाई कुनै ट्रफीले विश्वभरीका समर्थकबाट टाढा लान सक्दैन। विश्वभरका दर्शकका लागि तपाईँले खेलमा छोडेको प्रभावलाई कुनै उपाधिले व्याख्या गर्न सक्दैन,’ उनले फेसबुकमा लेखेका छन्।
रोनाल्डोका समर्थकसमेत रहका कोहलीले भगवान्को उपहारको संज्ञा दिँदै आफ्ना लागि उनी सर्वकालीन महान खेलाडी रहेको बताएका छन्।
‘तपाईँ भगवानको उपहार हो। हरेक पटक आफ्नो हृदयबाट खेल्ने र कडा परिश्रम गर्ने तपाईँ समर्पणको प्रतीक हुनुहुन्छ। कुनै पनि खेलाडीको लागि तपाईँ साँचो प्रेरणा हो। तपाईं मेरा लागि सर्वकालीन महान हुनुहुन्छ,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।