काठमाडौं– दिनेश प्रजापतिलाई नौ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पूर्व नम्बर एक गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन्।
भुवनले ४-अन्डर ६४ को स्कोरसहित समग्रमा १४-अन्डर २ सय ५८ को नतिजामा उपाधि जितेका हुन्। उपाधिसहित भुवनले १ लाख १६ हजार प्राप्त गरे। उनको यो खेल करिअरको दशौं उपाधि हो।
६-अन्डर ६२ को कार्ड बनाउन सफल दिनेश प्रजापति ५-अन्डर २ सय ६७ सहित दोस्रो भए। उनले ७८ हजार प्राप्त गरे। इभन-पार ६८ स्कोर जोडेका शुक्र बहादुर राईले समग्रमा १-अन्डर २ सय ७१ को नतिजामा तेस्रो स्थानमा चित्त बुझाए।
पहिलो दुई दिनका लिडर रबि खड्काले ४-ओभर ७२ स्कोरमा खेल सकाउँदा समग्रमा ३-ओभर २ सय ७५ मा चौंथो स्थान प्राप्त गरे। तेस्रो र चौंथो भएका शुक्र र रबिले क्रमशः ६३ हजार र ५० हजार प्राप्त गरे।
समग्रमा ५-ओभर २ सय ७७ सहित रमेश अधिकारी पाँचौ, ६-ओभर २ सय ७८ मा कृष्णमान राजबाहक छैटौं र ७-ओभर २ सय ७९ को स्कोरमा सूर्य प्रसाद शर्मा सातौं भए। अन्तिम दिन रमेशले १-ओभर ६९, कृष्णमानले ५-ओभर ७३ र सुर्यले ३-ओभर ७१ स्कोर बनाए।
अन्तिम १८ होलको सुरुआत गर्दा भुवनसँग नौ स्ट्रोकको अग्रता थियो। बिनादबाब सहजै अन्तिम दिनको खेल ४-अन्डर ६४ मा सकाउने क्रममा फ्रन्ट नाइन १-अन्डर ३३ मा पूरा गरे। दोश्रो होलमा बोगी प्रहार गरेपनि तेस्रो र पाँचौ होलमा एक-एक सट बचाए। यसपछि ११औं, १३औं र १४औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन ३-अन्डर ३३ मा पूरा गरे।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपाल प्राइभेट लिमिटेडको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र ५ एमेच्योर खेलाडीले सहभागिता जनाएका थिए।
विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।