काठमाडौं– सत्तारुढ गठबन्धनको दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले कसैलाई दोष नदिइ कमीकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिए। उनले ३ वटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने बताए।
मुलुकमा कायापलट ल्याउन ३ वटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने नेपालले उल्लेख गरे।
‘सरकारले आफूलाई समीक्षा गर्दै अघि बढ्नुपर्दछ। एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न सक्दैन। गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन। संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन। त्यो स्पष्ट छ। संविधानले प्रदत्त गरेको अधिकारहरु जनताले उपयोग गर्न सकुन्,’ नेपालले भने, ‘सबै पालिकामा जनताले के के न्यूनतम सुविधा पाउनुपर्ने हो, त्यो सबैले मनन् गर्न जरुरी हुन्छ।’
अध्यक्ष नेपालले पालिकाहरु हिंसामुक्त तथा छुवाछुत मुक्त हुनुपर्ने पनि बताए। ‘महिला हिंसामुक्त पालिका होस्। छुवाछुत मुक्त मेरो पालिका होउन्। सबै जाति समुदायको माझमा सामाजिक सदभाव कायम राखेको पालिका हाम्रो होस्। त्यस रुपमा प्रत्येक पालिकाले आफूलाई दर्ज गर्न सक्ने हो गरी काम गर्नु पर्दछ,’ नेपालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।