काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिने बताएका छन्।
प्रदेशसभातर्फ २०७४ को जस्तै नतिजा प्राप्त भएको भएपनि प्रतिनिधि सभामा अपेक्षित नतिजा हासिल हुन नसक्नुका पछाडिका कारण खोजी गरी पार्टीले त्यसको उचित समाधान गर्ने उनको भनाइ छ।
पार्टी सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासंघको १५औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्नुको अर्थ राष्ट्रिय राजनीतिमा कमजोर नभएको दाबी गरे।
मुलुकको राजनीतिमा आफ्नो पार्टीको भूमिका अहिले पनि केन्द्रीय नै रहेको र त्यसलाई कसैले खोस्ने स्थिति नभएको अध्यक्ष दाहालको भनाइ छ। राष्ट्रिय राजनीतिमा अजेण्डाका हिसाबले माओवादीकै अजेण्डा केन्द्रमा रहेको उनको दाबी छ।
इमान्दारिताका साथ आत्मसमीक्षा गरेर अगाडि बढेको खण्डमा माओवादी पुनः विस्तारित हुने उनको विश्वास छ। उनले निराश वा चिन्तित भएर नभई आफूहरू प्रतिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
अध्यक्ष दाहालले आगामी दिनमा आफूलाई रुपान्तरित गरेर अगाडि बढ्नुपर्ने प्रतिबद्धता सबैले गर्न सकेको खण्डमा पुनः विजयी हुने विश्वास व्यक्त गरे।
‘जितपछि हार, हारपछि जित यो स्वाभाविक प्रक्रिया हो। हारेपछि फेरि यो के भयो भनेर गम्भीररूपमा छातीमा हात राखेका समीक्षा गर्नुपर्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।