काठमाडौं– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा आज (शनिबार) दुई खेल हुँदैछन्। आज क्वार्टरफाइनलको अन्तिम दुई खेल हुने भएका हुन्।
शनिबार राति ८ः४५ बजे देखि हुने पहिलो खेलमा मोरक्को र पोर्चुगल भिड्दैछन्। यी दुई देशबीचको खेल अल थुमामा रंगशालामा हुनेछ। यस्तै, अर्को क्वार्टरफाइनल खेल राति १२ः४५ बजे इंग्ल्याण्ड र फ्रान्सबीच हुँदैछ। यी दुईबीचको खेल अल बाषत रंगशालामा हुनेछ।
दुवै खेलबाट चार टोलीले सेमिफाइनलका लागि प्रयास गर्नेछन्। शनिबारको खेलबाट दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। मोरक्कोले अन्तिम १६ मा पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो भने पोर्चुगलले स्विट्जरल्याण्डलाई हराएको थियो।
साविक विजेता फ्रान्स र सन् १९६६ को विजेता इंग्ल्यान्ड शनिबार जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनामा रहेका छन्। दुई पटकको विजेता फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई हराएको थियो भने इंग्ल्याण्डले सेनेगललाई पराजित गरेको थियो।
इंग्ल्याण्ड र फ्रान्सबीच ३१ पटक भेट भएको छ। जसमा इंग्ल्याण्ड हाबी छ। इंग्ल्याण्डले १७ पटक जित्दा फ्रान्सले ९ पटकमात्र जित आफ्नो नाममा दर्ता गरेको छ। यी दुई टोलीबीच ५ पटक बरारबरी भएको छ।
इंग्ल्याण्डले फ्रान्समाथि ६९ गोल वर्षाएको छ भने फ्रान्सले ३९ मात्र फर्काएको छ।
पछिल्लोपटक सन् १९८२ को विश्वकपमा यी दुईबीच भेट भएको थियो। जहाँ इंग्ल्याण्ड ३–१ ले विजयी भएको थियो। विगतमा इंग्ल्याण्ड बलियो भए पनि पछिल्लो २४ वर्ष यता भने फ्रान्स बलियो देखिएको छ। फ्रान्ससँग अहिले केलियन एम्बाप्पेजस्ता तीव्र गतिका खेलाडी छन्। यसर्थ उनको गतिलाई रोक्न इंग्ल्याण्डले धेरै मेहेनत गर्नुपर्ने विश्लेषण गरिएको छ।
इंग्ल्याण्डसँग ह्यारी केन, जुड बेलिङ्घम लगायतका स्टार खेलाडीहरूको बाहुल्यता छ। यद्यपि, जारी विश्वकपमा इंग्ल्याण्डले टिम गेम खेलिरहेको छ। यता, फ्रान्ससँग पनि एन्टोइन ग्रिजमन, ओलिभियर जिरुडजस्ता अनुभवी अग्रपंति छ। यसर्थ, यी दुईबीच रोचक भिडन्त हुने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।