काठमाडौं– कोरोना माहामारीका कारण नेपालमा पहिलो लकडाउन भयो।
त्यतिबेला हिमालयन टाइम्स पत्रिकामा डिजानिङ गर्थिन् रोनिभा थापा। तर लकाडाउनका कारण उनी जागिरबिहीन हुनुपर्यो।
पत्रिकाले आर्थिक संकटका कारण तलब दिन सकेन। बाध्य भएर जागिर छाडेकी रोनिभा चिन्तित बनिन्।
‘अब के गर्ने होला?’
घरमा बसिरहेको बेला रोनिभा सोचमग्न हुन्थिन्। सबै व्यवसाय ठप्प भएको बेला बाहिरको खाजाको स्वाद पनि भुलिसकेका थिए रोनिभा परिवारले। ‘घरभित्र जे पाक्छ त्यही खाएर बस्नुपर्ने अवस्था थियो। दिनदिनै एउटै खाजा खाँदा सबैलाई दिक्क लागेको थियो,’ उनी सुनाउँछिन्।
त्यही मेसोमा एकदिन आमाले मःम बनाइन्। त्यो मःम अहिलेसम्मकै फरक स्वादको थियो।
'यसरी फरक स्वाद कसरी भयो त?'
उनकी आमा निना राई (थापा)दार्जिलिङकी हुन्।आमालाई दार्जिलिङमा बनाउने मःमबारे राम्रो ज्ञान रहेछ। दार्जिलिङको स्वादमा बनाएकाले नेपाली मःम भन्दा बढी मन पराइन् रोनिभाले।

बुबाले पनि निकै मन पराए।
मःम खाइरहँदा रोनिभाले एउटा प्रस्ताव गरिन्, ‘ममीलाई मःम बनाउन आउँदो रहेछ। यसैको व्यवसाय गरौं न।’
सल्लाहलाई बा आमाले सकारात्मक लिए।
दोस्रो दिन बनाएको मःमको फोटो खिचेर रोनिभाले अनलाइनमा राखिन्। अनलाइनमा देखेपछि आफन्त र साथीभाइले अर्डर गरे। त्यसपछि बजारमा मःमको माग बढ्दै गयो।
‘पहिलो दिन हामीले ३० प्लेट फ्रोजन मःम बिक्री गरेका थियौं। त्यसपछि त माग बढ्दै गयो,’ उनी सुनाउँछिन्।
मःमको माग बढ्दै गएपछि समय र परिणाम पनि धेरै हुने भयो। आफ्नै घरमा खाली कोठा थियो। त्यही कोठामा उनीहरूले मःम बनाएर फ्रोजन गरेर राख्न थाले।
मःम बनाउने व्यवसायमा परिवार नै सामेल थियो। ‘ममीले मःम बनाउने पिठो बनाउनुहुन्थ्यो। म खुर्सानी केलाउँथे। सबै काम परिवार मिलेर गर्थ्यौं,’ रोनिभा सम्झन्छिन्।
टाढाबाट पनि माग आउन थाल्यो। तर लकडाउनले टाढासम्म पुर्याउन सम्भव थिएन। लकडाउन खुकुलो भएपछि टाढासम्म पनि अर्डरअनुसारको मःम पुग्न थाल्यो।
अब मःम बनाउन कामदार नै राख्नुपर्ने भयो।
रोनिभाका अनुसार अहिले मःम बनाउने मात्र सात जना कामदार छन्। डेलिभरी फुडमाण्डुले गरिदिन्छ। फ्रोजन मःम दैनिक पाँच सय प्लेट बिक्री हुन्छ।

उनका अनुसार फ्रोजन मःम भेज र ननभेज दुवैको ३० पिसको प्याकेट बनाइन्छ। त्यसमा अचार फ्रि हुन्छ। अचारको पैसा लाग्दैन। भेज मःम प्रतिप्याकेट २ सय ५५ रुपैयाँ पर्छ।
बफ मःम प्रति प्याकेट ३ सय रूपैयाँ पर्छ। चिकेन मःमको मूल्य प्रतिप्याकेट ३ सय ६० पर्छ।
रोनिभाले गत साउन १५ गतेबाट मैतिदेवी चोकमा ‘स्याङ्को कट्टी रोल, दार्जिलिङको स्वाद’ नामक रेस्टुरेन्ट खोलिन्। जहाँ दार्जिलिङको स्वादमा पाँच प्रकारका मःम पाइन्छन्। जसअन्तर्गत चिकेन, पोर्क, बफ, पनिर र भेज छन्।
ठूलो मःम पनि दार्जिलिङको स्वाद हो। यो पनि भेज/ननभेज दुवैमा पाइन्छ।
‘आजभोलि दैनिक खाजामा पहिलो रोजाइ मःम पर्छ। तर हाम्रो जिब्रोले दैनिक एउटै भन्दा नयाँ नयाँ स्वाद बढी खोज्छन्,’ उनी भन्छिन्, ‘त्यसको विकल्प दार्जिलिङको स्वाद हो।’
रोनिभाका अनुसार नेपाली मःम मसलादार हुन्छ। यो खाना स्वास्थ्यका हिसाबले हानिकारक मानिन्छ। तर दार्जिलिङको मःममा मसला नहुने बताउँछिन्।

उनी अचार पनि सादा हुने बताउँछिन्। अचारमा मसला नहाले पनि मीठो स्वाद हुन्छ। ‘अचार दुई प्रकारको हुन्छ। एउटा गर्मी सिजनमा खाने ग्रेभी र अर्काे जाडो सिजनमा खाने झोल,’ उनी भन्छिन्।
आलुदम दार्जिलिङको विशेष परिकार हो। यो पनि उनको रेस्टुरेन्टमा पाइन्छ। ‘आलुदम आलुबाट बनाइने एउटा खाजाको परिकार हो। यो सामान्य आलु फ्राइ भन्दा मीठो हुन्छ,’ उनी भन्छिन्।
उनी अब यसको शाखा विस्तार गर्ने योजनामा छिन्। काठमाडौंको बानेश्वर र ललितपुरको जावलाखेलमा उनले छिट्टै नयाँ रेस्टुरेन्ट खोल्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।