दोहा– चार पल्टको विश्व च्याम्पियन जर्मनी कतार जारी विश्वकपकाे पहिलो चरणबाट बाहिरिएको छ। तर, उसको पराजयलाई जर्मनी मिडियाले अहिलेसम्म पचाउन सकिरहेको छैन। यसै क्रममा अहिले नयाँ कुरा बाहिरिएको छ।
जसअन्तर्गत जर्मनीको पराजयको दोष खेलाडीहरूको श्रीमती र प्रेमिकालाई दिइएको छ। कतारको एकान्त रिसोर्टमा छुट्टिको अनुभूति गराउने वातावरण र खेलाडीका श्रीमती तथा प्रेमिका सेल्फीमा रमाइरहँदा खेलाडीहरूले आफ्नो बालबच्चाको हेरचाह गर्नुपरेको कारण जर्मनीले पराजय भोगेको दावी गरिएकाे छ।
जर्मनीको विश्वकपमा यो लगातार दोस्रो पल्टको खराब प्रदर्शन थियो। सन् २०१८ रुसमा पनि जर्मनीले समूह चरणबाटै बाहिरिनु परेको थियो।
जर्मनीको पत्रिका बिल्डको रिपोर्ट अनुसार संघका अध्यक्ष बेर्ना नेउनडर्फ र उपाध्यक्ष हान्स–जोचिम वाज्के सम्मिलित बैठकमा टोलीको खराब नतिजालाई लिएर बहस भएको थियो। जसमा साथी तथा परिवारको व्यवहार टिम बसेको होटलमा राम्रो नभएको र यसले खेलाडीहरूलाई असुविधा भएको जानकारी दिइएको थियो।

स्पेनविरूद्ध बराबरी खेलपछि जर्मनीका खेलाडीले आफ्नो श्रीमती तथा प्रेमिकालाई रिसोर्टमा बस्न निम्तो गरेको बैठकमा जानकारी गराइएको थियो। कोस्टारिकाविरूद्धको खेल अगाडिसम्म खेलाडीका श्रीमती तथा प्रेमिकाहरू सँगै भएको पनि जानकारी दिइयो।
खेलाडीहरूलाई दुई दिन उनीहरूको श्रीमती तथा प्रेमिकासँग बस्न सुविधा दिएको बिल्डको रिपोर्टमा उल्लेख छ।
स्पेनविरूद्ध १–१ गोलले बराबरी भएको खेलमा थुप्रै खेलाडीका प्रेमिकाहरू अल बायत रंगशालामा उपस्थित थिए।
प्रशिक्षक हान्सी फ्लिकले यो कुरामा तथ्यता नभएको बताउँदै आएका छन्। तर, जर्मनी फुटबल संघका पदाधिकारीहरू बाहिरी घटनाले खेलमा कतिको असर पुग्यो भन्ने तथ्य पहिचान गर्ने अभियानमा छन्।
जर्मनीले कतारको उत्तरी भूभागमा रहेको जुलाल वेलनेस रिसोर्टलाई आफ्नो बासस्थान बनाएको थियो। २८ हेक्टरमा फैलिएको यो पाँच तारे रिसोर्टमा १ सय २० वटा कोठा थिए। यसको एक रातको कोठा खर्च मात्र १४ सय स्टर्लिङ पाउण्ड थियो।
जर्मनी खेलाडी बसेको होटल दोहाभन्दा १ सय ११ किलोमिटर टाढा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।