काठमाडौं– योमरी भन्ने बित्तिकै हामीलाई नेवारी समुदायका साथीको याद आउँछ। नआओस् पनि किन, योमरी नेवारी परिकार जो हो। योमरी नेवारी समुदायको इतिहास र पहिचानसँग जोडिएको परिकार पनि।
नेवारी पात्रो अनुसार हरेक महिना फरक फरक खाने कुराको परिकार हुन्छ। योमरी पुन्ही पनि मंसिर पूर्णिमामा पर्ने गर्छ। हरेक वर्ष मंसिर पूर्णिमाको दिन ज्यापु दिवससँगै योमरी पुन्ही मनाइने गरिन्छ। यो वर्ष ज्यापु विकास संस्कृति कोषले १९औं ज्यापु दिवस तथा योमरी पुन्ही मनाएको छ। नेपालभरी मनाइने यो दिवस मुख्यतया काठमाडौं उपत्यकामा मनाउने गरिन्छ। सबै ज्यापु टोल संस्था गुठी मिलेर योमरी पुन्ही भव्य रूपमा मनाउने गर्छन्।
योमरी चामलको पिठोलाई मुछेर त्यसभित्र चाकु भरेर उसिनेर बनाइन्छ। विशेषगरी चाकु मात्र प्रयोग हुने योमरीमा आजभोलि खुवा पनि मिसाएर खाने गरिन्छ।
शरीरलाई तातो राख्नका लागि यसको प्रयोग गरिने १९ वर्षदेखि ओन्दे त्वा खलबाट योमरी बनाउने मुख्य जिम्मेवारी पाएका श्रीमुनि प्रजापति बताउँछन्। नेवारी संस्कृति जोगाउन भनेर योमरी पुन्ही मनाउन थालेदेखि नै (१९ वर्षदेखि) प्रजापतिले योमरी बनाइरहेका छन्।
हरेक वर्षझैं ओन्दे त्वा खलले (ओन्दे टोल गुठी) यसपटक पनि नेपालकै ठूलो योमरी बनाएको छ। ज्यापु दिवसमा केही फरक गरौं र सबैमाझ नेवारी संस्कृति देखाऔं भन्ने हेतुले ओन्दे त्वा खलका सदस्यहरु लागिपरेका हुन्।
‘हामीले योमरि बनाएर नेवारी संस्कृति झल्काउनुको साथै, योमरी खानुको फाइदा हुने कुरा देखाउन खोजेका हौं’, ओन्दे त्वा खलका सदस्य प्रविन महर्जन भन्छन्, ‘चिसो महिना सुरु भएसँगै जाडो बढ्छ। यस्तो बेला तातो तातो योमरी खाँदा शरीरलाई तताउन मद्दत गर्छ।
१९ वर्षदेखि एउटै व्यक्तिले बनाइरहेछन् योमरी
ज्यापु संस्कृति विकासको सहयोग र ओन्दे त्वा खलको सहकार्यमा योमरी बनाइन्छ। योमरी बनाउने मुख्य भूमिकामा श्रीमुनि प्रजापति छन्।
‘हाम्रो पहिचानको ज्यापु दिवसको अवसर पारेर हरेक वर्ष नेपालकै ठूलो योमरी बनाउँछौं। योमरी बनाउँदा मलाइ गर्व लाग्छ। बनाउन दु:खभन्दा पनि हामीले हाम्रो पहिचान जोगाउन मिहिनेत गर्ने गर्छौं’, प्रजापति भन्छन्, ‘योमरी र चाकुको सम्बन्ध छुट्टै छ। आजभोलि योमरीमा मासुलगायत अरु परिकार हालेर संस्कृति बिगारेको देख्दा दु:ख लाग्छ।’
उनीहरूले बनाउने योमरीका लागि ५२ किलो चामलको पिठो, १२ किलो चाकु र २ किलो तिल प्रयोग गरिन्छ। ज्यापु दिवस र योमरी पुन्हीको अवसरमा यो ओन्दे त्वा खलमा बनाइन्छ र ओन्देबाट परिक्रमा गराइ बसन्तपुर लगेर राखिन्छ। योमरी पुन्हीको दिन बसन्तपुरमा योमरी विशेष आकर्षणका रूपमा रहेको हुन्छ। यो वर्षको योमरी पुन्ही बिहीबार परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।