लण्डन– अनुहार लुकाएका हतियारधारी जबरदस्ती घरमा घुसपैठ गरेपछि कतारमा जारी विश्वकपमा सहभागी इंग्ल्याण्डका स्टार स्ट्राइकर रहिम स्टर्लिङ बीचैमा खेल छोडेर लण्डन फर्किनुको कारण खुलासा भएको छ।
यद्यपि यो घटनाको विषयमा इंग्लिस फुटबल संघले कुनै जानकारी बाहिर ल्याएको छैन। प्रशिक्षक गेरेथ साउथगेटले आइतबार प्रिक्वार्टर फाइनलअघि उनलाई लण्डन जाने अनुमति दिएका थिए। साउथगेटको निर्णयको विभिन्न टिकाटिप्पणी भएको थियो।
स्टर्लिङ खेल भइरहेकै राती दोहाबाट लण्डनका लागि उडेका थिए। खेलाडीका प्रवक्ताले चेल्सी फरवार्ड स्टर्लिङको प्रेमिका र बालबच्चा सरेस्थित घरमा बसिरहेको बेला बन्दुकधारी समूहले घरमा घुसपैठ गरेको खुलासा गरे।
तर, सरे प्रहरीले यसको विस्तृत जानकारी दिन मानेको छैन। उसले यस सम्बन्धमा आफूहरू माझ उजुरी नपरेको बताएको छ। तर, सोमबार स्टर्लिङ लण्डन फर्किएपछि घरमा गहना र महंगा घडीहरू हराइरहेको जानकारी पाएको प्रहरीले बताएको छ।
प्रहरीले हतियारधारी घुसपैठ भएको रिपोर्ट आफूहरू समक्ष नआएको र कसैलाई चोटपटक लागेको जानकारी नभएको पनि बताएको छ। उसले चोरी कहिले भएको हो भन्ने पत्ता लगाउन आफूहरू क्रियाशील रहेको बताएको छ।
स्टर्लिङ अनुपस्थित खेलमा इंग्ल्याण्ड ३–० ले विजयी हुँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो। उनी फेरि दोहा फर्केर टिममा सहभागी हुने आशा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।