दोहा– आफ्नो प्रेमी क्रिस्टियानो रोनाल्डोलाई मंगलबार राती स्विट्जरल्याण्डविरूद्धको खेलमा छोटो समयका लागि मात्र मैदानमा उतार्ने निर्णयप्रति जर्जिना रोड्रिगेजले आपत्ति जनाएकी छिन्।
२८ वर्षीय मोडल रोड्रिगेज लामो समयदेखि रोनाल्डोसँग ‘लभिङ’ मा छिन्। रोनाल्डोलाई प्लेइङ–११ मा मौका नदिएको खेलमा पोर्चुगल ६–१ गोलले विजयी भएको थियो।
यतिबेला ३७ वर्षीय रोनाल्डो बेञ्चमा बसेका थिए र उनको अनुहारमा निरासा झल्किन्थ्यो।
रोड्रिगेजले सोसल मिडियामा आक्रोस पोख्दै भनिन्, ‘हामीले ९० मिनेटसम्म विश्वको उत्कृष्ट खेलाडीको खेलको मजा लिन पाएनौं। यो निकै लज्जाको विषय हो।’
उनले पोर्चुगलको राष्ट्रिय गान बचेपछि मिडियाले मैदान बाहिर रहेका रोनाल्डोको तस्बिर खिच्न ध्यान केन्द्रीत गरेको बताइन्। उनले लेखेकी छिन्, ‘बधाई पोर्चुगल! ११ खेलाडीहरूले राष्ट्रिय गान गाए तर निशाना सबैतिरबाट तपाईमा।’
उनले रोनाल्डोलाई नखेलाउने निर्णयप्रति असन्तुष्टी जनाउदै भनिन्, ‘फ्यानहरूले तपाईको नाम चिच्याउन छोडेका थिएनन्।’
उनले भगवान र प्रशिक्षक फर्नान्डो सान्तोषले न्याय गर्ने भन्दै लेखेकी छिन्, ‘मलाई आशा छ, भगवान र तपाईंको प्रिय मित्र फर्नान्डोले हात समातेर हामीलाई अर्को रात (खेल) मा कम्पन गराउनु हुनेछ।’
मंगलबार राती रोनाल्डोको ठाउँ लिएका गोन्सालो रामोसले ६–१ ले विजयी खेलमा ह्याट्रिक गोल गरेका थिए। रोनाल्डोलाई अन्तिम १७ मिनेटमा मैदान प्रवेश गराइदिएको थियो।
पोर्चुगलको क्वाटरफाइनल मोरक्कोसँग शनिबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।