दोहा– आफूलाई पुरानो जुत्ता भिडाएको भन्दै रियल म्याड्रिडका ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियरले नाइकसँगको सम्झौंतालाई लिएर असन्तुष्टी जनाएका छन्।
गत सिजन उनले नाइकसँग ७० लाख पाउण्डको सम्झौंता गरेका थिए। तर, कतारमा जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका २२ वर्षीय स्ट्राइकरले आफूमाथि कम्पनीले अन्याय गरेको महसुस गरेका छन्।
उनले आफ्नो स्टार छवीलाई कम्पनीले वेवास्था गरेको भन्दै सम्झौंता तोड्ने प्रक्रिया अगाडि बढाउन वकिलसँग छलफल गरेको ओ ग्लोबो पत्रिकाले जनाएकाे छ।

उनले विश्वकपअन्तर्गत सोमबार राती दक्षिण कोरियाविरूद्ध ४–१ ले विजयी खेलमा पनि नाइकको पुरानो जुत्ता लगाएका थिए। उनले त्यो खेलमा गोल गरेका थिए।
गत सिजन च्याम्पियन्स लिगको खेलमा पनि उनले कम्पनीले नयाँ जुत्ता उपलब्ध नगराउँदा नाइकको पुरानो मर्कुरियल जुत्ता लगाउनु परेको थियो।
गत सिजन रियल म्याड्रिडमा उनको प्रदर्शन उत्कृष्ट थियो। त्यसले उनलाई इए स्पोर्ट्स, भिभो, कासास बाहिया, बेट नेसियोनल, वान फुटबल, जेट इङगेज, गोल्डेन कन्सेप्ट एण्ड रोयालिटिज र पेप्सी जस्ता प्रायोजकसँग पुराएको थियो।
अहिले उनले नाइकसँगको सम्झौंता रद्द गरे भने उनलाई प्रायोजक गर्न एडिडास, पुमा र रिबक जस्ता कम्पनी अगाडि आउने कुरामा कुनै शंका छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।