काठमाडौं– कतारमा जारी विश्वकप खेल्न आउनुभन्दा तीन महिनाअघि मात्र मोरक्कोले आफ्नो अनुभवी प्रशिक्षक बाहिद हलीहोजिचलाई पदबाट बर्खास्त गरेको थियो। यतिबेला युवा तथा अनुभवहीन वालिद रिग्रेगीलाई मोरक्को टिमको प्रशिक्षक नियुक्त गर्दा धेरैले प्रश्न उठाएका थिए।
तर, अहिले आफ्नो टोलीलाई क्वाटरफाइनल पुर्याएपछि ४७ वर्षीय मोरक्कन प्रशिक्षकको चर्चा चुलिएको छ। मंगलबार राति प्रिक्वाटर फाइनलमा पूर्वविश्व विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा मोरक्कोले ३–० ले पराजित गर्यो।
यतिबेला मोरक्कन खेलाडीसँगै प्रशिक्षकतर्फ पनि सबैको ध्यान आकृष्ट भयो। फ्रान्समा जन्मिका रिग्रेगीले मोरक्कोबाट २००१–२००९ सम्म अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए। त्यतिबेला उनको भूमिका डिफेन्डरको थियो।
मंगलबार स्पेनलाई पराजित गर्दा उनको डिफेन्सिभ रणनीतिले ठूलो भूमिका निर्वाह गरेको देखियो। स्पेनसँग खेल्नुअघि रिग्रेगीले भनेका थिए, ‘हामीसँग गुमाउनु केही छैन।’
किनभने मोरक्को ३६ वर्षपछि समूह चरणबाट माथि उठेको थियो। सन् १९८६ को विश्वकपपछि यो देश अन्तिम १६ मा प्रवेश गरेको हो।
अहिले स्पेनलाई जितेर उसले नयाँ इतिहास रचेकाे छ। मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो अरब राष्ट्र बनेको छ। र, उनी विश्वकपको क्वाटरफाइनल पुर्याउने पहिलो अफ्रिकी प्रशिक्षक बन्न पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।