काठमाडौं– स्पेनको दुई पेनाल्टीलाई रोकेका मोरक्कोका गोलरक्षक यासिन बोउनोले पूर्वविश्व च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेपछि उत्तर अफ्रिकी राष्ट्र कतार विश्वकपकाे क्वाटरफाइनल प्रवेश गरेकाे छ।
स्पेनका दुई स्टार कार्लाेस सुरेल र सर्जियाे बस्केटकाे पेनाल्टीलाई राेक्दै बाेउनाेले आफ्नाे देशलाई पहिलाे पल्ट विश्वकपकाे क्वाटरफाइनलमा प्रवेश गराउन महत्वपूर्ण याेगदान गरे।
स्पेनले हानेकाे तीन वटा पेनाल्टीमध्ये पाब्लाे सराबियाले हानेकाे पहिलाे पेनाल्टी पाेलमा लागेर फर्किएकाे थियाे। वास्तवमा स्पेनकाे दुर्भाग्य पनि यहीबाट सुरु भयाे।
सराबियाले निर्धारित ९० मिनेटपछि थप गरिएकाे ३० मिनेटकाे खेलकाे अतिरिक्त समयकाे अन्त्यमा पनि गाेलका लागि राम्राे प्रयास गरेका थिए। तर डिबक्सभित्रबाट हानेकाे उनकाे त्याे प्रहार पनि पाेलमा लागेर फर्किएकाे थियाे।
माेरक्काेका लागि ४ जनाले पेनाल्टी प्रहार गरेका थिए। जसमा एउटा पेनाल्टी मिस भएकाे थियाे। कतारबाट व्यवसायिक फुटबल खेल्ने डिफेन्डर बादे बेनाेनले हानेकाे पेनाल्टी स्पेनिस गाेलरक्षकले राेकेका थिए।
यस बाहेक अब्देल्हामिद साबिरी, हाकिम जियेच र अर्साफ हाकिमीले हानेकाे पेनाल्टी गाेलमा परिणत भएकाे थियाे। पहिलाे गाेल साबिरीले गरे। दाेस्राे गाेल चेल्सीका डिफेन्डर जियेच र चाैथाे तथा निर्णायक गाेल पीएसजीबाट डिफेन्डरकाे रुपमा खेल्ने हाकिमीले गरेका थिए।
यसअघि निर्धारित ९० र अतिरिक्त समयमा दुवै टाेलीले गाेल गर्न सकेनन्। अतिरिक्त समयमा इटालीको दोस्रो दर्जाको क्लब बारीबाट व्यवसायिक फुटबल खेलिरहेका वालिद चेदिराले माेरक्काेलाई जित दिलाउने तीन वटा मौका गुमाएका थिए।
स्पेनविरूद्ध मंगलबार राती भएको प्रिक्वाटर फाइनलको अन्तिम खेलमा मोरक्कोका डिफेन्डर प्रभावशाली रहे।
स्पेनले अतिरिक्त समयमा डानी अल्मोको ठाउँमा अन्सु फाटी र जोर्डी अल्बाको ठाउँमा अलेजान्द्रो बाल्डेलाई प्रवेश गराउँदै दबाब दिन खोजेको थियो। तर, स्पेनिस योजनालाई वेष्ट हामका मोरक्कन डिफेन्डर नायफ अगार्डले बिथोलेका थिए। उनलाई डिफेन्स लाइनमा पीएसजीका अर्साफ हाकिमीले पनि साथ दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।