काठमाडौं– इटालीको दोस्रो दर्जाको क्लब बारीबाट व्यवसायिक फुटबल खेलिरहेका वालिद चेदिराले अतिरिक्त समयमा पाएको तीन वटा मौका गुमाउदा विश्वकपमा स्पेनलाई हराउने इतिहासबाट मोरक्को बञ्चित भएको छ। उनले निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा रोकिएको अवस्थामा अतिरिक्त समयमा तीन वटा अवसर प्राप्त गरेका थिए।
समय थप गरिएको पहिलो हाफमा ५ मिनेट र अन्त्यतिर उनले गोलको मौका पाएका थिए। तर, दुवै पल्ट स्पेनिस गोलरक्षक उनाइ सिमोनलाई बुझाउन पुगे। अतिरिक्त समयको दोस्रो हाफमा पनि उनले ५ मिनेटभित्रै अर्को मौका पाएका थिए। तर, त्यसलाई पनि गोलमा परिणत गर्न सकेनन्।
स्पेनविरूद्ध मंगलबार राती भएको प्रिक्वाटर फाइनलको अन्तिम खेलमा मोरक्कोका डिफेन्डर प्रभावशाली रहे।
स्पेनले अतिरिक्त समयमा डानी अल्मोको ठाउँमा अन्सु फाटी र जोर्डी अल्बाको ठाउँमा अलेजान्द्रो बाल्डेलाई प्रवेश गराउँदै दबाब दिन खोजेको थियो। तर, स्पेनिस योजना वेष्ट हामका मोरक्कन डिफेन्डर नायफ अगार्डले बिथोले। उनलाई डिफेन्स लाइनमा पीएसजीका अर्साफ हाकिमीले साथ दिएका थिए।
यसअघि पूर्वविश्व च्याम्पियन स्पेनलाई उत्तर अफ्रिकी राष्ट्र मोरक्कोले निर्धारित समयको खेलमा गोलरहित बराबरीमा रोकेको थियो।
मिडफिल्डमा स्टार खेलाडीले भरिएको स्पेनलाई मोरक्कोका डिफेन्डरहरुले रोकेका थिए।
प्रशिक्षक लुइस एनरिकेले ६३ मिनेटमा गाभी र अल्भारो मोराटालाई प्रतिस्थापन गर्दै कार्लोस सोरेल र मार्को असेन्सियोलाई मैदानमा प्रवेश गराएका थिए। तर उनीहरुले पनि निर्धारित समयमा गोल निकाल्न सकेका थिएनन्।
यस खेलमा मोरक्कोका गोलरक्षक यासिन बोउनो नायक देखिए। उनले स्पेनलाई थुप्रै अवसरबाट बञ्चित गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।