काठमाडौं– माेरक्काेले उत्कृष्ट डिफेन्सकाे प्रदर्शन गर्दै स्पेनलाई अतिरिक्त समयकाे पहिलाे हाफमा पनि गाेलरहित बराबरीमा राेकेकाे छ।
अझ अतिरिक्त समयमा माेरक्काेका वालिद चेदिराले गाेलकाे दुई वटा माैका गुमाए। उनले पहिलाे हाफकाे ५ मिनेटमा पाएकाे गाेलकाे सुवर्ण अवसरलाई खेर फ्याकेका थिए। ८२ मिनेटमा इटालीकाे दाेस्राे दर्जाकाे टिम बारीबाट व्यवसायिक फुटबल खेल्ने वालिदले स्पेनिस गाेलकिपर र आफू मात्र भएकाे अवस्थामा पनि गाेल गर्न सकेनन्। उनले पछि पनि माैका पाएका थिए। तर त्यसमा पनि डिबक्सबाट गाेल गर्न सकेनन्।
स्पेनले अतिरिक्त समयमा डानी अल्माेकाे ठाउँमा अन्सु फाटी र जाेर्डी अल्बाकाे ठाउँमा अलेजान्द्राे बाल्डेलाई प्रवेश गराउँदै दबाब दिन खाेजेकाे थियाे। तर, स्पेनिस याेजना वेष्ट हामका माेरक्कन डिफेन्डर नायफ अगार्डले बिथाेलेका थिए। उनलाई डिफेन्स लाइनमा पीएसजीका अर्साफ हाकिमीले साथ दिएका थिए।
यसअघि पूर्वविश्व च्याम्पियन स्पेनलाई उत्तर अफ्रिकी राष्ट्र मोरक्कोले निर्धारित समयको खेलमा गोलरहित बराबरीमा रोकेको थियाे।
मंगलबार राती भएको खेलमा मिडफिल्डमा स्टार खेलाडीले भरिएको स्पेनलाई मोरक्कोका डिफेन्डरहरुले रोकेका थिए।
प्रशिक्षक लुइस एनरिकेले ६३ मिनेटमा गाभी र अल्भारो मोराटालाई प्रतिस्थापन गर्दै कार्लोस सोरेल र मार्को असेन्सियोलाई मैदानमा प्रवेश गराएका थिए। तर उनीहरुले पनि निर्धारित समयमा गोल निकाल्न सकेका थिएनन्।
यस खेलमा माेरक्काेका गाेलरक्षक यासिन बाउनाे नायक देखिए। उनले स्पेनलाई थुप्रै अवसरबाट बञ्चित गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।