काठमाडौं– क्यामरुन फुटबल संघका अध्यक्ष स्यामुएल इटोले सञ्चारकर्मीमाथि आक्रमण गरेका छन्।
कतारमा जारी विश्वकप फुटबलअन्तर्गत गएराति भएको ब्राजिल र दक्षिण कोरियाको खेल सकिएपछि ९७४ रंगशालाबाट बाहिर निस्कँदै गरेका उनले एकजना क्यामराम्यानमाथि आक्रमण गरेका हुन्।
इटोले ती क्यामेराम्यानमाथि आक्रमण गरेको भिडियो अहिले विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।

इटो आफ्ना समर्थकहरूसँग तस्बिर खिचाइरहेको अवस्थामा ती क्यामराम्यान उनको छेउमा आउँछन्। उनीहरूबीच केही संवाद हुन्छ। त्यसपछि इटोले लखेटी–लखेटी आक्रमण गरेको देख्न सकिन्छ। पछि उनलाई तीन–चार जना मानिसले समाएका थिए।
कतारमा जारी विश्वकपमा लिगेसी राजदूतसमेत रहेका इटो किन यति धेरै रिसाएर आक्रमणकै अवस्थामा पुगे भन्ने विषय बाहिर आएको छैन।
इटोले युरोपका चर्चित क्लबहरू बार्सिलोना, चेल्सी, इन्टर मिलान लगायतबाट फुटबल खेलिसकेका छन्। उनी क्यामरुन राष्ट्रिय टोलीका पूर्वकप्तान हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।