दोहा– कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलमा ब्राजिलले २६ खेलाडीलाई नै खेल्ने मौका दिँदै कीर्तिमान बनाएको छ ।
समूह चरणका तीन र नकआउट चरणका एक खेल खेलेको ब्राजिलले चार खेल सकिँदासम्म २६ खेलाडीलाई मौका दिएको छ।
सोमबार राति दक्षिण कोरियाविरुद्ध ४ गोलले अग्रता लिएपछि ब्राजिलका प्रशिक्षक टिटेले तेस्रो रोजाइका गोलरक्षक वेभर्टनलाई मैदानमा उतारेका थिए । वेभर्टन मैदानमा उत्रिएसँगै ब्राजिलले मैदानमा २६ खेलाडीलाई नै मौका दिएको हो।
समूह चरणको सर्बिया र स्विट्जरल्याण्डको खेलपछिको क्यामरुनसँगको खेलमा ब्राजिलले अधिकांश दोस्रो रोजाइका खेलाडीलाई मौका दिएको थियो।
यसअघि सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा नेदरल्याण्ड्सले आफ्ना सबै २३ खेलाडीलाई नै मौका दिएको थियो। कोराना महामारीपछि २३ बाट बढाएर अहिले एउटा टोलीमा २६ जना खेलाडी राख्ने गरिएको छ।
जारी विश्वकपमा भने २६ खेलाडीलाई मौका दिने ब्राजिल हालसम्म एक्लो टोली बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।