दोहा– आइतबार राति भएको खेलमा इंग्ल्याण्डले सेनेगलको विश्वकप यात्रामा पूर्णविराम लगाइदिएपछि साडिओ मानेले आफ्नो साथीहरुलाई भावुक सन्देश पठाएका छन्।
चोटका कारण विश्वकप गुमाएका स्टार फरवार्ड मानले आफ्नो टिमको प्रदर्शनबाट धेरै सन्तुष्ट भएको उल्लेख गर्दै टिमको प्रदर्शन गर्व गर्न योग्य भएको बताएका छन्। ‘अन्तिम १६ सम्मको यात्रा हाम्रा लागि निकै गौरवयोग्य हो,’ मानेले भनेका छन्।
गएराति भएको भएको नकआउट चरणको खेलमा मानेको टिम सेनेगल इंग्ल्याण्डसँग ३–० ले पराजित भएको थियो। त्यसपछि मानेले सामाजिक सञ्जाल इन्टाग्राममा आफ्ना साथीहरुलाई सम्बोधन गर्दै भावुक सन्देश लेखेका थिए।
उनले लेखेका छन्, ‘डीयर ब्रोदर, तपाईंहरुको यात्रामा मानिसहरुलाई धेरै गर्व छ। र तपाईहरुले सम्मानपूर्वक राष्ट्रिय झण्डाको रक्षा गरेर सेनेगालहरु र सबै समर्थकको हृदय जित्नुभएको छ। यो सिकाई जारी राख्नुहोस्, शुभकामना। हामी थप ट्रफीहरुको खोजीमा छौं। इंशा अल्लाह!’
देशका लागि ९३ खेल खेलिसकेका मानेले ३४ गोल गरेका छन्। उनी दुईपटक अफ्रिकन प्लेयर अफ द इयर समेत भएका थिए। उनैको उच्च प्रदर्शनमा सेनेगलले पहिलोपटक अफ्रिका कप अफ नेसन्सको उपाधि समेत जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।