दोहा– विश्वकपको समूह चरणबाटै बाहिरिएको ४ पल्टको च्याम्पियन जर्मनी मानसिक रूपमा तयार नभएको र यसै कारण राजनीतिक हत्कण्डामा उत्रिएको आरोप आर्सनलका पूर्वप्रशिक्षक आर्सने वेङ्गरले लगाएका छन्।
उनले विश्वकप खेल्न उत्रिने टोलीले राजनीतिक लफ्डाबाजी नगरि आफ्नो खेलमा केन्द्रीत हुने गरेको भन्दै जर्मनीको आलोचना गरेका छन्।
वेङ्गर फिफाको विश्वब्यापी फुटबल विकास परियोजनाका प्रमुख हुन्। ७३ वर्षीय अनुभवी प्रशिक्षकले पत्रकार सम्मेलनमा भने, ‘विश्वकप जस्तो ठूलो प्रतियोगितामा प्रदर्शन गर्ने अनुभव भएका फ्रान्स र इंग्ल्याण्डले पहिलो चरणमा राम्रो प्रदर्शन गरे त।’
उनले जुन टिम मानसिक रूपमा तयार थिए उनीहरूले प्रतियोगितामा ध्यान लगाएको र उनीहरू राजनीतिक प्रदर्शनीमा नउत्रिएको बताए।
जर्मनी यस विश्वकपमा पहिलो चरणबाटै बाहिरिनुको ठूलो कारण जापानसँग २–१ गोलले पराजित हुनु थियो।
कतारमा समलैगिक सम्बन्ध कानुनी रूपमा अपराध मानिन्छ। तर, जर्मनीले समलिङ्गीहरूलाई खुल्लम खुल्ला गतिविधि गर्न नदिएको भन्दै आयोजक कतारको विरोध गरेको थियो।
जर्मनी खेलाडीहरूले जापानविरूद्धको पहिलो खेलमा आफूहरूको बोल्ने अधिकार कुण्ठित गरिएको भन्दै मुख छोपेका थिए। तर, जापानसँग पराजय भोगेपछि दर्शकहरूले मुख छोपेर जर्मनीलाई सोसल मिडियामा उडाएका थिए।
जर्मनीका पूर्वस्टार लोथार माथेसले भने डिफेन्सको कमजोरीका कारण प्रतियोगिताबाट छिट्टै बाहिरिनु परेको विश्लेषण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।