दोहा– फ्रेञ्च टिमका स्टार केलियन एमबाप्पेले विश्वकपलाई प्रायोजन गरिरहेको मदिरा कम्पनी बडबाइजरको प्रचार गर्न अस्विकार गरेका छन्। उनले बडबाइजरले प्रदान गर्ने ‘म्यान अफ दि म्याच’ पुरस्कारमा पनि कम्पनीको नामलाई छोप्ने गरेको खुलासा भएको छ।
एमबाप्पे अहिलेसम्म पत्रकार सम्मेलनमा पनि उपस्थित भएका छैनन्। पेरि सेन्ट जर्मेनसँगको उनको भविस्यलाई लिएर आउने प्रश्नलाई छेल्न उनी पत्रकार सम्मेलनमा उपस्थित हुदैनन्।
फ्रान्स फुटबल संघले पत्रकार सम्मेलनमा उपस्थित नहुने एमबाप्पेको निर्णयको भने बचाउ गरेको छ। उसले पत्रकार सम्मेलनमा उपस्थित नहुँदा तिर्नुपर्ने जरीवाना संघले भुक्तान गर्ने पनि बताएको छ।
एमबाप्पेले विश्वकपअन्तर्गत दुई खेलमा ‘म्यान अफ दि म्याच’ को पुरस्कार जितेका थिए। तर, उनले विश्वकपको प्रायोजक बडबाइजरसँग जोडिन नचाहेको फ्रेञ्च पत्रिका ला’इक्युपले जनाएको छ। एमबाप्पेले पुरस्कार ट्रफी लिँदा कम्पनीको लोगो र नामलाई फोटोमा छोपेको स्पष्ट देखिएको थियो।
एमबाप्पे फ्रेञ्च बालबालिकाका लागि आदर्श पात्र हुन्। उनले आफ्नो इमेजलाई खराब हुन नदिन मदिराजन्य सामान, जंग फुड र बेटिङको प्रचार नगर्ने बताइसकेका छन्।
फ्रान्स विश्वकपको प्रि–क्वाटर फाइनलमा प्रवेश गरिसकेको छ। एमबाप्पे अर्जेन्टिनाका लिओनल मेसीसँगै गोल्डेन बुटको दौडमा समावेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।