काठमाडौं– फ्रान्सेली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पस्ले आइतबार पोल्याण्डविरुद्ध हुने अन्तिम १६ को खेलमा आफ्ना खेलाडीले भनेको कुरालाई सम्मान गर्नुपर्ने बताएका छन्।
सन् २००६ पछि विश्वकप विजेता टोली नकआउट चरणमा प्रवेश गरेको फ्रान्स पहिलो हो। आफ्नो समूहको अन्तिम खेलमा ट्युनिसियासँग १–० ले पराजित हुनुभन्दा अघि नै फ्रान्स नकआउट चरणका लागि छनोट भइसकेको थियो।
आज फेरि फ्रान्स अर्को बलियो टोली पोल्याण्डविरुद्ध मैदानमा उत्रँदैछ। गोल अन्तरका आधारमा आफ्नो समूहको मेक्सिकोलाई पछि पार्दै अर्जेन्टिनासँग २–० ले हार्दा पनि पोल्याण्ड नकआउट चरणमा प्रवेश गरेको टिम हो।
चेस्लाव मिचनीविक्जको टिमबारे कुरा गर्दै डेसच्याम्पस्ले थपे, ‘सबै खेलहरु कठिन हुनेछन्। सबै टोली राम्रा र खेल्नलाई तयार छन्। लिगमा राम्रो गरिरहेका प्लेयर्स पोलिस टिममा छन्।’
‘पोलिस टिमले पहिलो तीन खेलमा डिफेन्स खेल्दै काउन्टर अट्याकमा राम्रो गर्यो। उनीहरुको डिफेन्स निकै बलियो देखिएको छ,’ डेस्च्याप्सले भने, ‘उनीहरुसँग राम्रो अनुभव भएका खेलाडीहरु छन्। पोलिस टिमलाई सम्मान गर्नुपर्छ। उनीहरु पनि जितका लागि योग्य छन्।’
३६ वर्षपछि नकआउट चरणमा प्रवेश गरेको पोल्याण्डको मनोबल अहिले निकै उच्च भएको छ। चेस्लाव मिचनीविक्जको टिम पोल्याण्डमा रोबर्ट लेवान्डोस्की जस्ता गोल मेसिन छन्। काउन्टरमा लेवान्डोस्कीले आफ्नो क्षमता देखाउन सक्ने खुबी राख्छन्।
‘हामीलाई अघिल्ला खेलहरुमा बल पक्कडमा राख्न निकै कठिन भयो। गोलका लागि लेवान्डोस्कीलाई धरै अवसरहरु पनि सिर्जना गर्न सकेनौं। लेवान्डोस्कीजस्ता स्ट्राइकरहरु विपक्षीको पोस्ट नजिक पुग्दा पनि उनीहरुलाई तनाव हुन्छ’ पोल्याण्डका प्रशिक्षक चेस्लाव मिचनीविक्जले भने।
विश्वकपमा फ्रान्स र पोल्याण्डको आइतबार हुने भेट दोस्रो हो। यसअघि सन् १९८२ मा तेस्रो स्थानका लागि यी दुईबीच भेट भएको थियो। त्यतिबेला ३–२ गोल अन्तरले पोल्याण्डले फ्रान्सलाई हराएको थियो।
फ्रान्स र पोल्याण्डबीच भएका पछिल्ला सात भेटको कुरा गर्ने हो भने ३ वटामा फ्रान्स विजयी भएको छ भने ४ खेल बराबरीमा सकिएका थिए। पोल्याण्डसँग फ्रान्सले हारेको अन्तिम पटक भने सन् १९८२ मा भएको मैत्रीपूर्ण खेलमा हो। त्यतिबेला फा्रन्स ४–० ले पराजित भएको थियो।
सन् १९८६ मा राउण्ड अफ १६ मा ब्राजिलसँग ४–० ले पराजित भएपछि नकआउट चरण प्रवेश गरेको पोल्याण्डको यो पहिलो घटना हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।