दोहा– कतारमा जारी विश्वकपमा डिफेन्डिङ च्याम्पियन फ्रान्स प्रि–क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ। उसले क्वाटरफाइनल प्रवेशका लागि पोल्याण्डविरूद्ध खेल्दै छ।
तर, यतिबेला फ्रान्सका स्टार खेलाडी पाउल पोग्बाको खोजी भइरहेको छ। ट्युनेसियाविरूद्ध समूह चरणको अन्तिम खेलमा फ्रान्स १–० गोलले पराजित भएको थियो। यसपछि उनको खोजी भएको हो।
चोटका कारण पोग्बालाई यसपालिको विश्वकपमा टिममा समावेश गरिएको थिएन। घुँडामा चोट बोकेका युभेन्ट्स स्टार हाल अमेरिकाको मियामीमा श्रीमती जुलेसँग दिन बिताइरहेका छन्।

उनलाई हालै मियामीको आर्ट विकमा श्रीमतीसँगै फोटो पत्रकारहरूले फेला पारेका थिए। २९ वर्षीय सेन्टर मिडफिल्डर चहँकिलो निलो लुगामा दि गुडटाइम होटलमा शुक्रबार देखिएको अन्तर्राष्ट्रिय मिडियाले बताएको छ।
फ्रान्सका लागि ९१ अन्तर्राष्ट्रिय खेलिसकेका पोग्बाले चार वर्षअघि लेस ब्लुजलाई विश्व च्याम्पियन बनाउन क्रोएसियाविरूद्ध ४–२ ले विजयी खेलमा ५९ मिनेटमा गोल गरेका थिए।
डिडेर डेस्याम्पको प्रशिक्षणमा उत्रिएको फ्रान्सले समूह चरणको खेलमा अस्ट्रेलियालाई ४–१ र डेनमार्कलाई २–१ ले पराजित गर्दै सुरुमै नकआउट चरणमा प्रवेश पाएको थियो। तर, तेस्रो खेलमा उ ट्युनेसियासँग स्तब्ध भयो। यद्यपि यो खेलमा फ्रान्सले नियमित खेलाडीहरूलाई सुरुमा उतारेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।