दोहा– कतारमा विश्वकपअन्तर्गत प्रि–क्वाटर फाइनलको खेलहरू चलिरहदा फुटबलका महान खेलाडी पेले जीवनसँग लडिरहेका छन्। उनी आन्द्राको क्यान्सरबाट लामो समयदेखि थलिएका थिए।
अहिले उनको उपचार ब्राजिलकै साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा भइरहेको छ। तर, उनको स्वास्थ्यमा कुनै सुधार छैन। शरीर फुल्ने र मुटुले राम्रोसँग काम गर्न छोडेपछि गत मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो।
क्यान्सरविरूद्ध लड्न किमोथेरापी चढाई पनि त्यसले काम नगरेको ब्राजिली मिडियाहरूले बताएका छन्। चमत्कारीक खेलले तीन पल्ट आफ्नो देशलाई विश्वकपको उपाधि दिलाएका पेले अन्तर्राष्ट्रिय फुटबलका सम्मानित व्यक्तित्व हुन्।
पेलेको स्वास्थ्यलाई लिएर विश्वव्यापी चासो बढेपछि छोरी केलीले आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पार्न खोजेकी छिन्।
तर, ८२ वर्षीय पूर्वस्टारको स्वास्थ्यको कामना गर्दै उनकै पूर्वक्लब सान्तोषका खेलाडी रिभाल्डोदेखि फ्रान्सका केलियन एम्बाप्पेले चासो देखाएका छन्। उनीहरूले पेलेको स्वास्थ्य लाभको कामना गर्दै ट्वीट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।