दोहा– विश्वकपबाट अनपेक्षित रूपमा बाहिरिनु परेको रिस उरुग्वे स्टार इडिन्सन काभानीले भिडियो असिस्टेन्ट रेफ्री (भार) माथि पोखेका छन्।
शुक्रबार उनको टिम समूह चरणबाट बाहिरिएपछि लकर रूममा फर्किने बेला काभानीले 'भार' राखिएको भिडियो मोनिटरलाई धक्का हान्दै भूइँमा लडाइदिएका छन्।
शुक्रबार राती भएको खेलमा काभानी ६६ मिनेटमा लुइस सुआरेजलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए। यो खेल उरुग्वेले २–० ले जिते पनि समूह ‘एच’ को अन्य खेलमा दक्षिण कोरियाले २–१ गोलले पोर्चुगललाई पराजित गरेपछि विश्वकपबाट बाहिरिएको हो।
उरुग्वे विपक्षी टोलीलाई कम गोल गरेको आधारमा प्रतियोगिताबाट बाहिरिएको थियो। दक्षिण कोरिया र उरुग्वेले समान ४ अंक जोडेका थिए। तर, कोरियाले विपक्षी टोलीलाई ४ गोल गरेको थियो भने उरुग्वेले २ गोल मात्र।
शुक्रबारको खेलमा ५९ मिनेटमा रेफ्रीले पेनाल्टीको अवसर प्रदान गरे पनि भारले त्यो निर्णय उल्टाइदिएको घटनाबाट उरुग्वेका खेलाडी रिसाएका थिए। उरुग्वेले पहिलो हाफमै २–० को अग्रता बनाइसकेको थियो। ५९ मिनेटमा उसले पेनाल्टी पाएको भए खेलको नतिजा अर्के हुने काभानीको भनाई छ।
काभानीको व्यवहार खराब भएको भन्दै पूर्वअन्तर्राष्ट्रिय खेलाडीहरूले आपत्ति जनाएका छन्। ‘कस्तो डरलाग्दो केटो रहेछ,’ इयान राइटले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।