दोहा– ब्राजिलका लागि दोस्रो धक्का लागेको छ। क्यामरुनसँग समूहको अन्तिम खेल गुमाएको ५ पल्टको विश्व च्याम्पियन टिमको स्टार स्ट्राइकर गाब्रियल जेसस र लेफ्ट ब्याक एलेक्स टेलेस चोटका कारण विश्वकपबाट बाहिरिएका छन्।
ब्राजिलले विश्वकपको अन्तिम १६ मा एसियाली देश दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ। ब्राजिल टिमका पहिले नै स्टार स्ट्राइकर नेइमारले चोट बोकिसकेका छन्। आर्सनलका फरवार्ड जेसस करिब एक महिना बाहिर रहने बताइएको छ। उनको दायाँ घुँडामा चोट लागेको थियो।
यस्तै म्यानचेस्टर युनाइटेडबाट ऋण सम्झौंतामा सेभिल क्लबबाट खेलिरहेका टेलेस भने लामो समय मैदानबाट बाहिरिनसक्ने आशंका गरिएको छ। उनलाई घुँडाको सल्यक्रिया आवश्यक रहेको ब्राजिलको न्युज एजेन्सी ग्लोबोले बताएको छ।
शुक्रबार राती क्यामरुनविरूद्धको खेलमा दोस्रो हाफमा उनलाई पेड्रोले पदस्थापन गरेका थिए। जेससको चोट तुरुन्त ठिक नभए उनले वेस्ट हामविरूद्ध बक्सिङ डेमा हुने आर्सनलको खेल पनि गुमाउनु पर्नेछ।
दोस्रो हाफमा टेलेसको स्थानमा मार्किन्होस मैदानमा प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।