काठमाडौं– कतारमा जारी विश्वकप फुटबलअन्तर्गत शुक्रबार राति समूह चरणका खेल सकिएका छन्। नकआउट चरणमा जाने १६ टोलीको टुंगो लागेको छ।
यसर्थ, आजैदखि नकआउट चरण अर्थात प्रि–क्वार्टरफाइनलका खेल सुरु हुँदैछन्।
पहिलो खेलमा आज नेदरल्याण्ड्स र अमेरिका भिड्दैछन्। समूह चरणमा यी दुवै टोली अपराजित रहेका थिए।
नेदरल्याण्ड्स समूह ‘ए’को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो। उसले सेनेगल रआयोजक कतारलाई समान २–० गोल अन्तरले हराएको थियो भने इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको थियो।
यस्तै, अमेरिकाले वेल्ससँग १–१ तथा इंग्ल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो। अन्तिम खेलमा इरानलाई १–० ले स्तब्ध बनाएर अमेरिका समूह ‘बी’को उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो।
यी दुई टोली अहिलेसम्म ५ पटक आमने–सामने गरेका छन्। र, ती सबै भेट मैत्रीपूर्ण खेलका हुन्। नेदरल्याण्ड्सले ४ जित निकाल्दा अमेरिकाले १ पटकमात्र नतिजा आफ्नो पक्षमा पारेको छ।
अन्तिम पटक सन् २०१६ मा भेट हुँदा अमेरिकाले ४–३ को जित दर्ता गरेको थियो।
आज राति यी दुई टोली भिड्दैगर्दा पछिल्लो समयमा लयमा रहेको युरोपियन टिम नेदरल्याण्ड्सको पल्ला भारी हुने अनुमान गरिएको छ। यद्यपि, इंग्ल्याण्डजस्तो बलियो टोलीलाई बराबरीमा रोकेपछि अमेरिकाको मनोबल बढेको छ। यसर्थ, यी दुईबीचको खेल प्रतिस्पर्धात्मक हुने आकलन गरिएको छ।
शनिबार मध्यराति अन्तिम १६ को दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलिया भिड्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।