एजेन्सी– कतारमा जारी विश्वकप फुटबलअन्तर्गत नकआउट चरणमा प्रवेशका लागि अर्जेन्टिनालाई जसरी पनि पोल्याण्डलाई हराउनै पर्ने बाध्यता थियो।जसकारण सुरुवातदेखि नै अर्जेन्टिना आक्रमक देखियो। बराबरी वा झिनो अन्तरको हारमा समेत नकआउट चरण जाने सम्भावना बोकेको पोल्याण्डले भने डिफेन्सिभ खेलेको थियो।
खेलको ३९ औं मिनेटमा पोल्याण्डका गोलरक्षकले कप्तान लियोनल मेसीलाई डिबक्सभित्र फउल गरे। त्यसपछि पाएको पेनाल्टीमा मेसी गोल गर्न चुके। पहिलो हाफ गोलरहित बराबरीमा सकियो। त्यसपछि दबाबमा आएको अर्जेन्टिनालाई उद्दार गरे एलेक्सिस म्याक अलिस्टरले।
इंग्लिस क्लब ब्राइटनबाट व्यवसायिक फुटबल खेल्दै आएका एलेक्सिसले नाहुल मोलिनाको पासमा ४६ औं मिनेटमा गोल गर्दै आउट हुन लागेको अर्जेन्टिनाको उद्दार गरेका थिए।
उनै एलेक्सिसको अहिले चर्चा–परिचर्चा भइरहेको छ। अर्जेन्टिनाको उद्दार गर्ने एलेक्सिस तीनै खेलाडी हुन् जसका बाबु कार्लोस म्याक अलिस्टर सुपरस्टार खेलाडी डिएगो म्याराडोनासँगै खेल्थे। अहिले उनैका छोरा एलेक्सिस अर्का स्टार खेलाडी मेसीसँग खेल्छन् ।
सन् १९९४ मा हुने विश्वकपको छनौटमा कार्लोसले म्याराडोनासँग अर्जेन्टिनाको राष्ट्रिय टिमबाट फुटबल खेलेका थिए।
विश्वकप छनोटको अन्तरमहादेशीय प्लेअफमा अष्ट्रेलियासँग १–१ को ड्र र अर्को एक खेलमा १–० को जित निकाल्दै अर्जेन्टिना विश्ववकपमा छनोट भएको थियो। कार्लोससहित मैदान उत्रिएको अर्जेन्टिनाले सन् १९९३ मा जर्मनीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेल भने पराजित भएको थियो।
अर्जेन्टिनाले सन् १९९४ मा विश्वकप खेल्दा कार्लोस भने राष्ट्रिय टिममा परेनन्।
अहिले उनै कार्लोसका छोरा एलेक्सिस अर्जेन्टिनाको टिमबाट विश्वकप खेलिरहेका छन्। त्यो पनि अर्जेन्टिनाका वर्तमान सुपरस्टार मेसीसँगै रहेर। उनकै प्रेरणामा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले हराउँदै नकआउट चरण प्रवेश गरेको छ । उक्त खेलको म्यान अफ द म्याचसमेत उनै एलेक्सिस चुनिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।