काठमाडौं– सोमालियाको एक होटलमा आतंककारीहरुले हमला गरेका छन्। सोमालियाको राजधानी मोगादिसुमा रहेको भिल्ला रोसा होटलमा आइतबार राति शक्तिशाली हतियार प्रयोग गरेर हमला गरेका बताइएको छ।
सो होटलमा सोमालियामा हिंसा मच्चाइरहेका अब सेबाब आतंककारी समूहले आक्रमण गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्। होटलमा रहेका पाहुना र कर्मचारीको अवस्था भने अज्ञात रहेको छ।
स्थानीय प्रहरी र नागरिकहरुले सो होटलमा उनीहरुले शक्तिशाली विस्फोटक पदार्थहरु पनि विस्फोट गराएको बताएका छन्। प्रहरीले सोमबार बिहानसम्म सो हमलाको बारेमा पूर्ण जानकारी नआएको र प्रहरीले सो होटललाई घेरा हालेर अनुसन्धान जारी गरेको बताएको छ।
सो होटलमा रहेका पाहुना र कर्मचारी हताहत भएको आशंका गरिएको समाचारमा जनाइएको छ। शक्तिशाली हतियार र विस्फोटक पदार्थको प्रयोग गरेर हमला भएकाले मानवीय क्षतिको आशंका गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए।
आतंककारीहरुले होटलको गेट र परिसरमा विस्फोट गराएका थिए। सोमबार बिहान प्रहरी सो होटलमा प्रवेश गरेको र उद्धारको काम सुरु भएको बताइएको छ।
सोमालियाका अल सेबाब आतंककारीहरुले पछिल्लो समयमा सुरक्षाकर्मी, सर्वसाधारण नागरिक एवं विभिन्न भौतिक संरचनाहरुमा पनि आक्रमण गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।