काठमाडौ– मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको नजिता आउनेक्रम अन्तिमतिर पुगेसँगै आगामी सत्ता समीकरणबारे चासो राख्दै भारतीय राजदूत सक्रिय भएका छन्।
भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भेट गरेका छन्। प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति देउवासँगको भेटलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न राजदूत श्रीवास्तव खुमलटार पुगेका थिए। खुमलटार र बालुवाटार स्रोतले भेटमा राजदूतसँग अहिलेको राजनीति अवस्थाको बारेमा पनि कुरा भएको स्वीकार गरेको छ।
‘भारतीय राजदूतले मंसिर ४को निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा भारतीय पक्षको शुभकामना सुनाउनु भयो’, खुमलटार स्रोतले भन्यो, ‘भेटमा अहिलेको नतिजा र आगामी सरकारमा बारेमा स्वभाविक कुारकानी भएको छ। ’
बालुवाटार स्रोतका अनुसार राजदूतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश र आगामी सत्ता गठबन्धन र सरकार बारेमा चासो राखेका छन्। हालसम्मको नतिजा हेर्दा सहज रुपमा कसैको पनि सरकार नबन्ने र धेरै दलहका बीचमा गठबन्धन गर्नुपर्ने देखिएको छ। त्यसैले धेरै दल मिलेर मिलिजुली सरकार बनाउनुपर्ने भएकाले विदेशी चासो पनि धेरै हुने देखिएको विश्लेषण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।