गुल्मी– गुल्मी–१को कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा पुनः मतदान भएको छ। दिउँसो साढे २ बजेसम्म ८ सय १८ मत खसेको मतदान अधिकृत नवराज भण्डारीले बताए।
त्यस मतदान केन्द्रमा १ हजार ३ सय ६९ मतदाता छन्। मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन स्थगित गरिएको थियो।
स्थगित गरिएका भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए। तर सबै मतदानले पुनः मतदान गर्ने भएका छन्।
यो केन्द्र बाहेक जिल्लाका अन्य मतदान केन्द्रको मतदान सकेर जिल्ला सदरमुकाम तम्घासमा मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्षेत्रमा १ लाख १९ हजार २ सय ८८ जना मतदाता रहेकोमा अर्बेनी केन्द्र बाहेक ६८ हजार ७ सय ६७ जनाले मतदान गरेका थिए।
यस निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाका लागि एमालेबाट प्रदीप ज्ञवाली र कांग्रेसबाट डाक्टर चन्द्र भण्डारीबीच प्रतिस्पर्धा छ।
यस्तै घटना गुल्मी जिल्लाको मालिका गाउँपालिका वडानम्बर–५ को छापहिले माध्यमिक विद्यालयको (क) केन्द्रमा बिहान २ घण्टा रोकिएको मतदान स्थानीय दलका प्रतिनिधिसँग गरिएको सहमती पश्चात मतदान पुनः सुरु गरिएको थियो।
क्षेत्र नम्बर २ को भने मतगणना चलिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।