काठमाडौं- तस्बिरमा देखिएको निर्माणाधीन भूमिगत सडक राजधानीको मुख्य नाका कलंकी चोकको हो। यो भूमिगत सडक निर्माणमा खटिइरहेको छ चीन सरकारको प्राविधिक टोली।
चीन सरकारको सहयोगमा निर्माण पूरा भएपछि अहिलेको अस्तव्यस्त कलंकी चोकमा ४ लेनको भूमिगत सडक बन्नेछ। त्यसका दायाँबायाँ २/२ लेनका सहायक सडक अनि भूमिगत सडकको माथि ‘क्रस’ गर्ने ८ लेनको बाहिरी सडक हुनेछ।
कलंकी चोकको भूमिगत बाटो ८ सय ४० मिटर लामो हुनेछ। सडकको डिजाइनअनुसार बल्खुबाट स्वयम्भू जाने (चक्रपथ सडकका) सवारीसाधनले कलंकीचोकमा भूमिगत मार्ग प्रयोग गर्नेछन्। भूमिगत सडकमाथिको ८ लेन भने थानकोट, कालिमाटी र १/१ लेनबाट चक्रपथतर्फ मोडिने सवारीका लागि हो। चक्रपथका सहायक लेनबाट आएका सवारीले पनि कालिमाटी तथा थानकोटतिर जान यही ८ लेन सडक प्रयोग गर्नेछन्।
कलंकी–कोटेश्वर चक्रपथ विस्तार योजनाअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कलंकीको ट्राफिक समस्या सुल्झाउन भूमिगत मार्गसहित ८ लेन सडकको निर्माणको काम अगाडि बढाएको हो। भूमिगत सडक निर्माणको काम यही वर्षभित्र सम्पन्न गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ।
यो सडक निर्माणको ठेक्का चीनकै सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले पाएको छ। कम्पनीले सम्झौताअनुसार २०१३ मार्च १५ बाट निर्माण सुरु गरिसकेको हो। कम्पनीसँग २०१२ डिसेम्बर १८ मा यससम्बन्धी सम्झौता भएको थियो। सबै सडक निर्माण सन् २०१६ मे १५ मा सकिने सम्झौतामा भएको थियो। तर, भूकम्प, नाकाबन्दीका कारण यो निर्माण अवधि थप गरिएको छ।
निर्माण कार्य सुरु हुनुअघि बनाइएको चक्रपथको डिजाइन यस्तो छ-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।