गुल्मी– गुल्मीको क्षेत्र नम्बर १ अन्तर्गतको अर्बेनीमा मंगलबार पुनः मतदान हुने भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत कालिगण्डकी गाउँपालिकाको वडा नम्बर २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंसिर ६ गते मंगलबार पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए।
आइतबार मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो। मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता मध्ये ६६४ जनाले मतदान गरेका थिए।
यो केन्द्र बाहेक जिल्लाका अन्य मतदान केन्द्रको मतदान सकेर जिल्ला सदरमुकाम तम्घासमा मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै गुल्मी जिल्लाको मालिका गाउँपालिका वडानम्बर–५ को छापहिले माध्यमिक विद्यालयको (क) केन्द्रमा बिहान २ घण्टा रोकिएको मतदान स्थानीय दलका प्रतिनिधिसँग गरिएको सहमतिपछि मतदान पुनः सुरु गरिएको थियो।
जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन्। जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो।
निर्वाचनको लागि २ हजार ५ सय बढी सुरक्षाकर्मी र २ हजार वढी कर्मचारी परिचालन गरिएको छ। जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभा गरी ६ जनप्रतिनिधिका लागि ६० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।