काठमाडौं– विश्वकप फुटबल प्रत्यक्ष प्रशारण गर्नेबारे देखिएको विवादसम्बन्धी मुद्दा ३० गते अन्तिम सुनुवाईका लागि पठाइएको छ। सोमबार सुनुवाईका लागि पेसी तोकिए पनि सुनुवाई हुन सकेन।
न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र हरि फुयाँलको संयुक्त इजलासमा पेसी तोकिएकोमा अब उक्त मुद्दाको अन्तिम सुनुवाई ३० गते हुने सर्वोच्च प्रशासनले जनाएको छ।
उक्त मुद्दाको पेसी सोमबार पहिलो नम्बरमा थियो। खेल हेरेवापत अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था र त्यसविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि नेपालमा प्रत्यक्ष प्रशारण हेर्न पाउने विषयमा अन्योल भएको थियो।
नेपालमा विश्वकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेर्न पाउने वा नपाउने निर्णय सोमबार हुने आदेशले निर्धारण गर्ने छ। सर्वोच्चले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज भएमा मिडिया हवले शुल्क लिएर विश्वकप प्रत्यक्ष प्रशारण गर्न पाउने छ भने अन्तरिम आदेश जारी भएमा शुल्क लिन पाउने छैन।
हरेक चार वर्षमा हुने विश्वकप फुटबल प्रतियोगिताप्रति नेपालमा पनि व्यापक चासो र चर्चा हुने गरेको छ। सबैजसो उमेर समूहका नेपालीले उक्त खेल प्रतियोगिता टेलिभिजनमा प्रत्यक्ष हेर्ने भएकाले नेपालमा पनि महत्व छ।
यसपटक उक्त प्रतियोगिताका खेल हेर्न नेपालमा ५०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने भनिएपछि त्यसले ‘विवाद’ उत्पन्न भएको थियो। अधिवक्ता किशोर पौडेलले उक्त निर्णय गैर संवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।