काठमाडौं– यसै महिना कतारमा हुन लागेको विश्वकप फुटबलका लागि डेनमार्कले प्रारम्भिक टोली घोषणा गरेको छ।
डेनमार्कले विश्वकपका लागि सोमबार राति २१ सदस्यीय अपुरो टोली घोषणा गरेको हो। अझै पाँच खेलाडी छनोट हुन बाँकी रहेकाले २१ सदस्यीय टोली घोषणा गरिएको डेनमार्कका मुख्य प्रशिक्षक केस्पर हिउलमण्डले जनाएका छन्।
डेनमार्कले घोषणा गरेको टोलीमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर क्रिस्टियन एरिक्सन पनि अटाएका छन्।
एरिक्सनलाई युरोकप दौरान गत वर्षको जुन १२ मा हृदयघात भएर ढलेका थिए। फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर ढलेका उनको फुटबल करिअर सकिएको मानिएको थियो। तर, उनी नाटकीय रुपमा क्लब फुटबलमा मात्र होइन अन्तर्राष्ट्रिय फुटबलमै फर्किए।
बिरामी भएको आठ महिनापछि एरिक्सन नेदरल्याण्ड्सविरुद्धको खेलमा डेनमार्कको तर्फबाट मैदानमा फर्किका थिए। यसका बाबजुद पनि उनले विश्वकपको टोलीमा स्थान पाउने अपेक्षा शतप्रतिशत थिएन। तर, प्रशिक्षक हिउलमण्डले उनलाई टोलीमा राखेका छन्।
२२ औँ संस्करणको विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ। डेनमार्कले नोभेम्बर २२ मा ट्युनिसियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।
डेनमार्कको समूहमा साविक विजेता फ्रान्स र अष्ट्रेलिया पनि छन्। विश्वकपका लागि जापान, ब्राजिल र अष्ट्रेलियाले टोली घोषणा गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।