काठमाडौं– जनता समाजवादी (जसपा)ले नेपालका प्रमुख राजनीतिक दलहरूमाथि टिप्पणी गरेको छ। शनिबार राजधानीमा घोषणापत्र सार्वजनिक गर्दै जसपाले नेपालको राजनीतिमा सक्रिय रहेका दलहरूमा तीन प्रवृत्ति रहेको भनी टिप्पणी गरेको छ।
जसपाले कम्युनिस्ट पार्टीहरू ‘कमाउनिस्ट’मा रुपान्तरण भएको, कांग्रेस पुँजीवादी इतिहासको ब्याजमा धानिएको आरोप लगाएको छ।
एमालेतिर संकेत गर्दै जसपाले केही पार्टीहरू धार्मिक कट्टरपन्थ र राप्रपालाई राजतन्त्रवादीकोे रूपमा व्याख्या गरेको छ। यी चारथरी पार्टीको बीचमा आफूलाई भने जसपाले वैकल्पिक दल भएको दाबी गरेको छ।
‘साम्यवादी लक्ष्य बोकेको कम्युनिस्ट विचारधारा जुन विचारधारालाई नै विश्व दृष्टिकोण मानेर धेरै कम्युनिस्ट पार्टी जन्मिएका छन्। नेपालमा पनि धेरैथरी कम्युनिस्ट पार्टीले रहेको र उनीहरूले आफूलाई साम्यवादी कित्तामै उभ्याएको दाबी गरेका छन्,’ घोषणापत्रमा भनिएको छ, ‘तर, ती व्यवहारतः अवसरवादी र ‘कमाउनिस्ट’ भइसकेका छन्।’
समग्र रुपमा माओवादी केन्द्र, एकीकृत समाजवादी र एमालेप्रति जसपाले यस्तो भनाइ राखेको छ। त्यस्तै, पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले धार्मिकताको कुरा गरेकोप्रति पनि घोषणापत्रले संकेत गरेको छ। ठोरीमा राम जन्मेकोदेखि पूर्वीय दर्शनको कुरा गरिरहेका ओलीप्रति लक्षित गर्दै जसपाले धार्मिक कट्टरपन्थी र कुनै न कुनै रुपमा राजतन्त्रात्मक शासन प्रणालीलाई आदर्शको रुपमा ग्रहण गर्ने विचारधारा देखिएको दाबी गरेको छ।
अहिले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्दासमेत त्यो विचारधारालाई राजनीतिक दृष्टिकोण मानेर अघिबढ्ने दलहरू अझैपनि रहेको भन्दै जसपाले राप्रपालाई पनि जोडेको छ। नेपालमा अहिलेसम्म यिनै तीन विचारधाराका वरिपरी बनेका पार्टीहरूले शासन चलाएको दाबी जसपाले गरेको छ।
जसपाले दोस्रो विचारधाराको रुपमा पुँजीवादी उदारवादीलाई उल्लेख गरेको छ।
‘यो विचारधारालाई अँगाल्ने पार्टी कांग्रेस हो,’ घोषणापत्रमा भनिएको छ, ‘यो पार्टीले अहिले वर्तमानको अर्थराजनीतिक जटिलतालाई निकास दिनसक्ने ल्याकत राख्दैन। केवल इतिहासकै ब्याजमा धानिएको पार्टीको रुपमा कांग्रेसले पारम्परिक राजनीति गरिरहेको छ।’
एमालेलाई आरोप लगाइरहेको जसपाले आसन्न मंसिर ४ को निर्वाचनमा उसैसँग चुनावी तालमेल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।