काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादवले जसपाले अब
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणाली हुनुपर्नेमा जोड दिएको बताए।
त्यस्तै अहिलेको निर्वाचन प्रणाली पनि खारेज हुनुपर्ने उनले स्पष्ट पारे। उनले समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसदहरू चुनिने र उनीहरूले व्यवस्थापकीय र विधायकी काम मात्र गर्ने हुनुपर्ने बताए।
अध्यक्ष यादवले अहिलेको सात प्रदेश पनि नमिलेकाले १० प्रदेश बनाउनुपर्ने दाबी गरे।
‘अहिले संसदीय प्राणलीले नेपालमा न राजनीतिक स्थिरता दिन सक्यो न गणतन्त्रलाई बलियो बनाउन सक्यो,’ उनले भने, ‘यो लामो प्रयोग गरेको प्रणाली सफल हुन सकेको छैन। त्यसैले राजनीतिक स्थिरता र तीव्र रुपमा आर्थिक क्रान्तिगर्नका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्छ।’
उनले समानुपातिक संसद् रहने त्यसले संसदीय र व्यवस्थापकीय कार्य गर्ने हुनुपर्ने बताए। कार्यकारीले सरकार बनाउने र चलाउने अनि संसद्ले कानुनमात्र बनाउने व्यवस्थाका लागि संविधान संशोधन हुनुपर्ने उनले दाबी गरे।
उनले देश संघीयतामा गएपछि अदालत केन्द्रिकृत भएको आरोप लगाए। उनले स्वतन्त्र र निष्पक्ष अदालत हुनुपर्ने भन्दै संघीयताअनुसार यसको पनि विस्तार गरिनुपर्ने बताए। उनले यस्ता व्यवस्था बनाउनका लागि वर्तमान सविधान नै सशोधन गर्नुपर्ने माग गरे।
‘निर्वाचन प्रणाली महङ्गो भएकाले विकृतहुँदै गएको छ,’ उनले भने, ‘यसका लागि संविधान संशोधन गरेर समानुपातिक निर्वाचन प्रणालीतर्फ अघि बढ्नुपर्छ। उम्मेदवारले खर्च नर्ग नपाउने व्यवस्था वा आर्थिक रुपमा सरल र सुभल भई खर्च नहुने प्रणाली हुनुपर्छ । ’
जसपाका नेता प्रकाश अधिकारीले पार्टीको घोषणापत्र अन्य दलभन्दा फरक रहेको दाबी गरे । उनले आन्दोलन र विद्रोहवाट प्राप्त उपलब्धि कार्यान्वयन गर्ने बताए। उनले वर्तमान संविधानमा संशोधन र पूर्नलेखन चाहेको स्पष्ट पारे। वर्तमान शासकीयस्वरुप परिमार्जन गर्नुपर्ने जसपाको माग छ।
जातीय, क्षेत्रीय विभेदहरू अन्त्य गरेर सामाजिक न्यायको दिशामा अघि बढाउने जसपाको प्रमुख घोषणपत्रको लक्ष्य रहेको उनले बताए। वर्तमान आर्थिक अवस्थाबाट चिन्तित हुदै यसलाई तीव्र गतिमा विकास गर्नुपर्ने जसपाले घोषणापत्रमा उल्लेख गरेको छ। आर्थिक विकासका लागि स्थिर राजनीति हुनुपर्ने जसपाको माग छ।
हेरौं पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।